Pura Samachar

आज नेप्से परिसूचक ९४.५३ अंक अर्थात ३.४१ प्रतिशतले बढेर २ हजार ८६०.९१ बिन्दुमा

प्रकाशित: August 11, 2024
पूरा समाचार

आज नेप्से परिसूचक ९४.५३ अंक अर्थात ३.४१ प्रतिशतले बढेर २ हजार ८६०.९१ बिन्दुमा

काठमाडौँ / आइतबार सेयर बजारमा उत्साह बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज नेप्से परिसूचक ९४.५३ अंक अर्थात ३.४१ प्रतिशतले बढेर २ हजार ८६०.९१ बिन्दुमा उक्लिएको छ ।

२०७८ माघ २० गते २ हजार ८७६.७४ विन्दुमा रहेको नेप्से त्यसयता माथि उक्लिन सकिरहेको थिएन । गत सातादेखि २८ सय बिन्दु पार गरेर तल झरेको नेप्से परिसूचक माथि उक्लिएसँगै बजार थप बढ्ने अनुमानले लगानीर्ताहरू उत्साहित छन् ।

यसैगरी सेन्सेटिभ इन्डेक्स १८.२३ अंक अर्थात ३.७६ प्रतिशतले बढेर ५०१.९१ बिन्दुमा उक्लिएको छ भने फ्लट इन्डेक्स ६.६५ अंक अर्थात ३.७६ प्रतिशतले बढेर १९४.९६ बिन्दुमा पुगेको छ ।

त्यस्तै, सेन्सेटिभ फ्लट इन्डेक्स भने आज ५.६४ अंक अर्थात ३.५५ प्रतिशतले बढेर १६४.१७ बिन्दु कायम भएको छ ।

आइतबार ३३० ओटा कम्पनीको ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता सेयर २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको छ ।

यसअघि गत मंगलबार २३ अर्ब ५० करोडको कारोबार भएर ऐतिहासिक रेकर्ड कायम गरेको सेयर बजारले आज उक्त रेकर्ड समेत तोडिएको हो।

दर्जन कम्पनीको धितोपत्रको मूल्य सर्किट लेभलमा बढ्यो 

आइतबार उच्च अंकले बढेको बजारमा १२ ओटा कम्पनीको सेयर मूल्य सर्किटल लेभलमा बृद्धि भएको छ । नेशनल हाइड्रो पावर कम्पनी, नेरुडे मिर्मिरे लघुवित्त, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्यतु कम्पनी, माथिल्लो तामाकोशी, शुभम् पावर, आत्मनिर्भर लघुवित्त र मिड सोलु हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बृद्धि भएको छ ।

यसैगरी, युनाइटेड इदीमार्दी आरबि हाइड्रोपावर, सिँगटी हाइड्रोपावर र रिडी पावर कम्पनीको सेयर मूल्य सर्किट लेभल अर्थात ९.९९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

यता, कुथेली बुखारी स्मल हाइड्रोपावरका लगानीकर्ताहरुले भने सबैभन्दा गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको हो । त्यस्तै, सिटिजन्स सुपर ३० म्युचल फण्डको सेयरमूल्य पनि आज ७.५४ प्रतिशतले घटेको छ ।

हिमालयन रिइन्स्योरेन्स र शिवम्को कारोबार सर्वाधिक 

कारोबार रकमका आधारमा आज हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ भने शिवम् सिमेन्ट दोस्रो स्थानमा रहेको छ ।

हिमालयन रिइन्स्योरेन्सको आज १ अर्ब ५२ करोड रुपैयाँबढीको सेयर कारोबार भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९५३ रुपैयाँ कायम रहेको छ ।

यता, आजै गत बर्षको वित्तीय विवरण प्रकाशित गरेको शिवम् सिमेन्टको सेयर मूल्य ७३३ रुपैयाँ कायम रहेको छ भने आज दिनभर कम्पनीको १ अर्ब १६ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको बृद्धि भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया