Pura Samachar

कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्सले ग्लोबल टी–२० लिग क्यानडाको उपाधि

प्रकाशित: August 12, 2024
पूरा समाचार

कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्सले ग्लोबल टी–२० लिग क्यानडाको उपाधि

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्सले ग्लोबल टी–२० लिग क्यानडाको उपाधि उचालेको छ।

गएराति सम्पन्न फाइनल खेलमा टोरोन्टोले साबिक विजेता मोन्ट्रियल टाइगर्समाथि ८ विकेटको शानदार जित निकालेको हो।

टस हारेर सुरुमा ब्याटिङ गरेको टाइगर्सले पूरै २० ओभर खेल्दा ९ विकेटको क्षतिमा ९६ रन बनाएको थियो। उसका लागि कोर्बिन बोशले सर्वाधिक ३५ रन बनाउनु भयो । जसकरण सिंहले १६, अनुप रविले १० रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सक्नुभएन ।

टाइगर्सलाई सस्तैमा समेट्न टोरोन्टोका लागि जेसन बेहरेन्डोर्फले सर्वाधिक ३ विकेट लिनुभयो । चार ओभर बलिङ गर्दा मात्र ८ रन दिएका उहाँले तीन विकेट हात पार्नुभएको हो ।

रोमारियो शेफर्डले दुई विकेट लिएको खेलमा जुनैद सिद्दिकी, मोहम्मद नवाज, निखिल दत्त र जतिन्द्रपाल मथारुले समान एकएक विकेट हात पार्नुभयो र

जवाफी ब्याटिङ गरेको टोरोन्टोले दुई विकेटको क्षतिमा १५ ओभरमै ९७ रनको लक्ष्य भेट्टायो। उसका लागि एन्ड्रिज गौसले नटआउट अर्धशतक बनाउनु भयो । ४९ बल खेलेका उहाँले ८ चौकाको मद्दतमा ५८ रन बनाउनु भयो भने रसिभ भान डरले नटआउट ३० रन जोड्नु भयो । कप्तान कोलिन मुनरो शून्यमा आउट हुँदा उन्मुक्त चन्दले चार रन बनाउनु भयो ।

टाइगर्सका लागि अजमातुल्लाह उमरजाई र कोर्बिन बोशले एकएक विकेट लिनुभयो । फाइनलमा नेपालका कप्तान पौडेल प्लेइङ ११ मा मौका पाएनन्। ब्याटिङ अलराउण्डर रोहितले राम्रो ब्याटिङ गर्न नसके पनि उहाँको फिल्डिङको चर्चा लिगमा भइरहेको छ ।

प्रतिक्रिया