Pura Samachar

अवैध हतियारसहित एक पक्राउ

प्रकाशित: March 14, 2021

अवैध हतियारसहित एक पक्राउ

राँझा, १ चैत (रासस) : जिल्ला प्रहरी कार्यालय बाँकेले राप्तीसोनारी गाउँपालिकाबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ । राप्तीसोनारी गाउँपालिका–५ स्थित जबरपुरमा खोजतलासका क्रममा अत्याधुनिक हतियारसहित सोही गाउँ निवासी ६८ वर्षीय ऋषिराम थारूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धामपुरका प्रमुख प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारूले जानकारी दिनुभयो । उहाँका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दा ऋषिरामको घरबाट भरुवा बन्दुक दुई थान, छोरा ओमप्रकाश थारूको घरबाट एक थान बारबोर बन्दुक र भाइ लालबहादुर थारूको घरबाट एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने बारुद एक किलो, सटगनमा लाग्ने खोका ५० वटा, सटगन जेगीराउन्ड एक थान, जरायोको सिङ तीन थान, बँदेलको दाँत १० थान, चित्तलको दाँत चार थान र दुम्सीको प्वाँख फेला परेको हो । पक्राउ परेका थारू विसं २०७४ को निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट गाउँपालिका अध्यक्ष र बाँके १ नम्बर निर्वाचन क्षेत्र ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेदवार बन्नुभएको थियो । फरार रहेका लालबहादुर र ओमप्रकाशको खोजी जारी रहेको प्रहरी सहायक निरीक्षक थारूले जानकारी दिनुभयो ।

प्रतिक्रिया