
–डा.डीआर उपाध्याय
काठमाडौं– विश्वव्यापी रुपमा फैलिएको कोरोनाको दोस्रो लहर नेपालमा पनि पुनः देखिएको छ ।
पहिलो लहरको कोरोना संक्रमणभन्दा अहिले देखिएको कोरोना बढी मात्रामा घातक रहेको कुरा चिकित्सकहरुले बताउँदै आएका छन् ।
दृष्टिकोण
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण भएका बिरामीमध्ये धेरैजसो जटिल अवस्थामा उपचार भैरहेको पाइन्छ ।
अब कोही पनि मानिसहरुले यो कोरोनासँग खेलवाड गर्नु हुँदैन ।
यदि कोरोनासँग खेलवाड गरियो भने जो सुकैको ज्यान खतरामा पर्न सक्छ ।
पछिल्लो समयमा आएर कोरोना संक्रमण बढ्दै गएपछि नेपाल सरकारले बढी भिडभाड हुने ठाउँहरुलाई बन्द गर्ने घोषणा गरेको छ ।
बढी मात्रमा प्रभावित हुने क्षेत्रहरु शैक्षिक संस्था, पार्टी प्यालेस, रेष्टुराँ, दोहोरी साँझ लगायतका हुन् ।
अहिले विशेष गरेर शैक्षिक संस्था बढी मात्रमा प्रभावित भएका छन् ।
किनभने नजिकिँदै गरेको वार्षिक परीक्षा समेत अन्योलमा परेको छ ।
आजदेखि कोरोनाले बढी प्रभावित क्षेत्रका शैक्षिक संस्थाहरु पूर्ण रुपमा भर्चुअल पठनपाठनमा फर्किएका छन् ।
अहिले देखिएको कोरोनाले बाल मस्तिष्कमा एक खालको त्रास उत्पन्न गराएको छ ।
भविष्यका कणर्धार बालबालिकामा यस्तो त्रास उत्पन्न हुँदा उनीहरुको पढाइप्रतिको रुचि कम हुँदै गएको देखिन्छ ।
लकडाउनले गर्दा स्कुले शिक्षा प्रभावकारी रूपमा सञ्चालन हुन नसक्ने देखिएको छ ।
जसले गर्दा अभिभावक आफ्ना बालबच्चाको शिक्षा र मानसिक स्वास्थ्यलाई लिएर चिन्तित बनिरहेका छन् ।
त्यसैगरि वयस्क व्यक्ति आफ्नो सुरक्षाको बारेमा सोच्न सक्छन्, तर सानो उमेरका कलिला बालबालिकाहरु त्यसो गर्न सक्दैनन् ।
उनीहरू घरबाट निस्केर नफर्किएसम्म असुरक्षित रहन्छन् ।
यसरी कोभिड–१९ जस्तो रोगसँग जुध्ने क्रममा चालिनुपर्ने कदमबारे अहिलेसम्म पनि अन्यौल सिर्जना हुन पुगेको छ ।
अभिभावक आफ्ना बच्चाको शैक्षिक वर्ष गुमाउन पनि चाहँदैनन्, भर्चुअल माध्यमबाट पठनपाठन गराउँदा अभिभावकका आफ्ना पेशा, व्यवसाय धरापमा परेको देखिन्छ ।
बालबालिकाहरुलाई घरमा छोड्ने वा पेशा, व्यवसाय छोड्ने यो पनि चिन्ताको विषय बनेको छ ।
अर्कोतर्फ समस्याको विषय यो छ कि सबैको घरमा इन्टरनेट जोड्ने औकात हुँदैन ।
सबैलाई पुग्ने गरि पढ्न एकै पटकमा मोबाइल, ल्यापटप उपलब्ध हुन सक्दैन ।
त्यसैगरि शहरी क्षेत्र बाहेक दुरदराजमा इन्टरनेटको सुविधा हुँदैन ।
त्यसैले शैक्षिक संस्था कोरोनाबाट बढी मात्रमा प्रभावित भएको मान्न सकिन्छ ।
यो विषयमा नेपाल सरकार र सरोकारवाला बिच छलफल गरी अन्य विकल्पहरु पनि खोज्नु पर्छ ।
वर्षैपिच्छे कोरोनाकै कारण भविष्यका कर्णधार बालबालिकाको भविष्य पनि बिगार्नु त भएन नि ।
यस बारेमा सबैले गम्भिरता पुर्वक सोचौँ ।
यता प्राणघातक जस्तो कोरोना सँग पनि हेलचेक्राई गर्नु भएन ।
समस्या यो हो ।
कोरोना कै कारण गत वर्ष मुलुकको अर्थतन्त्र चलायमान हुन सकेन ।
यस वर्ष पनि त्यस्तै हुने हो कि भन्ने चिन्ता थपिएको छ ।
योसँगै बजार भाउ पनि धान्नै नसक्ने गरि आकासिएको छ ।
जुन कारणले निम्न आयश्रोत भएका नागरिकको जनजीवन कष्टकर बन्दै गएको छ ।
अब गत वर्ष जस्तै लकडाउन गर्नु पर्ने अवस्था आएमा निम्न आयश्रोत भएका व्यक्ति सबैभन्दा बढी मर्कामा पर्ने देखिन्छ ।
विगत वर्षको असरले गर्दा धेरै मानिसको अहिले सम्म रोजगारीको सुनिश्चितता छैन ।
अहिले देखिएको दोस्रो लहरको कोरोनाको त्रासले बालबालिका मात्रै नभइ आम नेपाली जनतालाई त्रसित बनाएको छ ।
गरिखाने वर्गका लागि यो एउटा समस्याको रुपमा देखिन्छ ।
नेपाल सरकारले पुर्व तयारी अपनाउनु पर्ने जरुरी देखिएको छ ।
जस्तै सीमानाकामा कढाई गर्ने, चेकजाँच गर्ने साथै आम नागरिकले पनि सरकारले तोकेको स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्ने गराउने कार्य गर्नु पर्दछ । –बैशाख ७
प्रतिक्रिया