Pura Samachar

आगलागीबाट लाखौँ क्षति

प्रकाशित: May 17, 2021

आगलागीबाट लाखौँ क्षति

दोलखा, ३ जेठ (रासस) : बैतेश्वर गाउँपालिका–४ फाप्लु गोलाइका गङ्गाबहादुर दाहालका घरमा आगलागी भएको छ ।

आज बिहान करीब ११ः३० बजेतिर भएको आगलागीबाट सम्पूर्ण घर जलेर खरानी भएको छ । स्थानीयवासी, इलाका प्रहरी कार्यालय, जिरी र मैनापोखरी तथा लामा कन्स्ट्रक्शनको पानी ट्याङ्कीसमेतको प्रयासमा आगलागी नियन्त्रण भए पनि घरभित्रबाट कुनै सामग्री निकाल्न नसकिएको स्थानीयवासी सुजन दाहालले जानकारी दिनुभयो । भूकम्पले क्षति भएपछि निर्माण भएको उक्त घरमा दाहाल परिवारको बसोबास थियो ।

आगलागीबाट घरभित्र रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, गरगहना, रुपैयाँपैसासमेत जलेर नष्ट भएको छ । विद्युतीय सर्किटबाट आगलागी भएको प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ । कुनै मानवीय क्षति नभए पनि घरबासविहीन भएका अवस्थामा तत्कालै बसोबासको व्यवस्था मिलाउन स्थानीय सरकार र सहयोगी संस्थालगायत सहयोगी निकायमा अनुरोध गरिएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने यकिन भइसकेको छैन । अहिले घटनास्थलमा प्रहरीले प्रारम्भिक मुचुल्का तयार गरिरहेको छ ।

प्रतिक्रिया