Pura Samachar

हतारमा आएको नागरिकता सम्बन्धि अध्यादेश

प्रकाशित: May 27, 2021

हतारमा आएको नागरिकता सम्बन्धि अध्यादेश

–डा.डीआर उपाध्याय

काठमाडौं, १३ जेष्ठ  । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकतासम्बन्धी अध्यादेश जारी भएको छ ।

आज यो अध्यादेशलाई लिएर पक्ष र विपक्षमा मत बाझिएको छ ।

नेकपा एमाले माधव समूहका नेता भिम रावल, राष्टिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी, नेकपाका महासचिव नेत्र बिक्रम चन्द बिप्लव लगायतका नेताहरुले नागरिकतासम्बन्धी अध्यादेशको चर्को विरोध गरेका छन् ।

उनीहरुले मुलुक सिक्किमीकरण हुने खतरा भएको औंल्याएका छन् ।

आफ्नोतर्फबाट प्रेस बिज्ञप्ती जारी गरेर उनीहरुले अध्यादेश फिर्ता लिन सरकारलाई आग्रह समेत गरेका छन् ।

संविधानको धारा ११४ (१) बमोजिम उक्त अध्यादेश जारी भएपछि यसको स्वागत गर्नेहरु पनि छन् र विरोध गर्नेहरुको जमात पनि बढेको छ ।

बाहिरबाट जति सुकै विरोध आए पनि सरकारले अध्यादेश फिर्ता लिने कुनै छाँटकाट देखाएको छैन ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोको सक्रियतामा यो अध्यादेश आएको हो ।

संसद नभएको बेला यसरी अध्यादेश ल्याउनु गलत कार्य भएको विपक्षी नेताहरुको आरोप छ ।

संसद विघटन गरेर यो अध्यादेश ल्याएर गर्न खोजेको के हो ?

राजनीतिक दल र तिनका नेताहरुले प्रश्न गर्दै आएका छन् ।

भारतीयहरुले नेपालको नागरिकता लिएर नेपालीहरु अल्पमतमा पर्ने निश्चित रहेको कुरा चित्र बहादुर केसीले बारम्वार बताउँदै आएका छन् ।

नेता केसीले बारम्वार भन्ने गर्छन्–‘भारतीयलाई नागरिकता वितरण गरियो भने मुलुक सिक्किमीकरण हुन्छ ।’

सबैभन्दा डर लाग्दो कुरा यो हो ।

संविधानको धारा ११ मा जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउने अधिकार छ ।

नेपाली नागरिकता पाउन योग्य कुनै पनि व्यक्तिलाई नागरिकताबाट वञ्चित गरिनु हुँदैन भन्ने संविधानमै उल्लेख छ ।

जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकले नागरिकता प्राप्त गरेको मितिपछि पाएको सन्तानलाई वंशजको नागरिकता प्रदान गर्नु न्यायसंगत हुन्छ ।

यो नेपालको संविधान २०७२ अनुसार पनि छ ।

नागरिकता जस्तो विषयलाई हल्का रुपमा लिनु हुँदैन ।

नागरिकता राष्ट्रियतासँग जोडिएको गम्भीर विषय पनि हो ।

नागरिकताको विषयलाई देशको हितमा हेरिनु पर्छ ।

नेपालमा त्यस्ता लाखौं नागरिक छन्, जो नेपाली भए पनि कानूनी उल्झनले नागरिकता पाउनबाट वञ्चित छन् ।

कतिले त नेपाली भएर पनि नागरिकताविहीन हुँदा राज्यको सामान्य सेवासमेत नपाई जीवन गुमाएका छन् ।

नागरिकता अध्यादेशलाई सत्ताका लागि सौदाबाजी भएको भन्दै विपक्षी दलहरुले अस्वीकार्य छ भनेका छन् ।

यस्तो अवस्थामा यो अध्यादेश फिर्ता लिनु पर्ने भन्दै कानुनविदहरुले पनि भनेका छन् ।

अहिले यही विषय सबैभन्दा पेचिलो बनेर गएको छ ।

सबैको ध्यान यसै विषयमा खिचिएको छ ।

कुन दलका कुरा पत्याउने, कुन दलका कुरा नपत्याउने ?

आम नागरिक अलमलमा छन् ।

जनता अलमलाउने खेल मात्र भएको छ ।

दलका कार्यकर्ताहरु पनि आफनो स्वार्थ पूर्ति जता हुन्छ, त्यतैका कुरामा सहमत जनाउँछन् ।

सहि के हो गलत के हो ती कार्यकर्ता केही नछुट्याई अन्धभक्त भएका छन् ।

यो नागरिकता विधेयकका विषयमा पनि व्यापक छलफल, वहस हुनु पर्दथ्यो ।

त्यतातिर सरकारले किन ध्यान दिएन ?

सरकारलाई हतारमा यो अध्यादेश ल्याउन केले बाध्य पारेको हो ?

जनतालाई जवाफ दिनु पर्छ ।

प्रतिक्रिया