Pura Samachar

किन अभाव छ बजारमा सिटामोल?

प्रकाशित: June 4, 2021

किन अभाव छ बजारमा सिटामोल?

नेपालमा कोभिड–१९ को संक्रमण बढेसँगै सिटामोलको माग ह्वात्तै बढेको छ। कोभिड पोजेटिभ देखिएर ज्वरो आएमा चिकित्सकहरूले सिटामोल खाना सुझाउँछन्। यसकारण पछिल्लो समय यसको माग उच्च रहेको औषधि वितरकहरू बताउँछन्। तर मागअनुसार कम्पनीहरूले उत्पादन गर्न नसकेपछि हाल बजारमा सिटामोल अभाव छ।

काठमाडौं, बौद्धस्थित बौद्धनाथ मेडी फर्मा सञ्चालक लक्ष्मण पाण्डे सिटामोल मागअनुसार बिक्री गर्न नपाएको बताउँछन्। उनले भने, ‘कोभिडको संक्रमण बढेसँगै सिटामोलको माग ह्वात्तै बढेको छ। तर मागअनुसार धान्न सकिएको छैन। अहिले स्टकमा रहेको अलिअलि बेचिरहेको छु।’

सोही ठाउँमा विगत २१ वर्षदेखि केबी फर्मा चलाउँदै आएका भरत थापाले पनि करिब एक महिनादेखि सिटामोलको अभाव भएको गुनासो गरे।

‘निषेधाज्ञा भएसँगै सिटामोल किन्न आउने बढेका छन्। तर भने जति दिन सकिएको छैन,’ भरतले भने।

‘सिटामोलमा पहिला २० प्रतिशत नाफा राख्न भनिए पनि हाल १५ प्रतिशत मात्र राख्न भनिएको छ। हामी त यस्ता अत्यावश्यक औषधि निःशुल्क देऊ भने पनि तयार छौं। तर ग्राहकले माग्दा दिन सकियोस् भन्ने हो,’ उनी भन्छन्, ‘यो विकराल समयमा ग्राहकको मागअनुसार सिटामोल समेत उपलब्ध गराउन नसक्दा दुःख लाग्छ।’

नेपालमा सिटामोल उत्पादान गर्ने निजी कम्पनी नौभन्दा बढी छन्। तर पनि यो महामारीमा अत्यन्त आवश्यक सिटामोल आवश्यक अनुरूप किन धान्न सकिएन त? भन्ने प्रश्नमा नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायण क्षेत्री कच्चापदार्थको मूल्य बढेको तर सिटामोलको मूल्य नबढाइएका कारण यस्तो समस्या आएको बताउँछन्।

‘कच्चापदार्थको मूल्य तीन/चार गुणा बढेको छ। तर, सिटामोल पुरानै मूल्यमा बेच्न भनिएको छ। जुन १४ वर्ष अगाडि तोकिएको मूल्य हो। यसरी त लागत नै उठ्दैन,’ उनले भने।

एक गोटी सिटामोलको डेढ रूपैयाँ लागत लाग्ने तर एक रूपैयाँमा बेच्दा उत्पादकले घाटा बेहोर्नुपरेको क्षेत्री बताउँछन्। मूल्य समायोजन हुन सकेन भने नयाँ मूल्यअनुसार कच्चापदार्थ किनेर सिटामोल बनाउने सक्ने अवस्थामा नरहेको उनले बताए।

प्रतिक्रिया