Pura Samachar

पूर्वमाओवादी खेमामा असन्तुष्टि

प्रकाशित: June 15, 2021

पूर्वमाओवादी खेमामा असन्तुष्टि

असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दा पूर्वमाओवादी समूहका प्रभावशाली नेताहरु छुटेपछि सो समूहमा असन्तोष छताछुल्ल हुन थालेको छ ।

आकर्षक मन्त्रालय, आगामी निर्वाचनमा मागेको निर्वाचन क्षेत्र लगायतका प्याकेजमा डिल गरेर ओलीलाई साथ दिएका पूर्वमाओवादीका नेताहरु पछिल्लो मन्त्रिपरिषद् विस्तारमा नपरेपछि सो समूहका नेता-कार्यकर्तामा असन्तोष देखिन थालेको हो ।

पूर्वमाओवादी खेमाको नेतृत्व गर्न रामबहादुर थापा (बादल) असफल भएको उनीहरुको ठहर छ । बादलले आफ्नै श्रीमतीलाई आकर्षक मन्त्रालयमा पठाएपछि केही साताअघि सर्वोच्चको आदेशबाट मन्त्री पद गुमाएर पुनः नियुक्तिको आशमा मन्त्री निवास पुल्चोकमै बसिरहेका नेताहरु जिल्ल परेका छन् ।

नेता मणि थापाका अनुसार बादलले आफ्नै श्रीमतीलाई मन्त्री बनाएको विषयलाई लिएर नेता/कार्यकर्ताहरुले असन्तुष्टि पोखेका छन् ।

‘मन्त्रिपरिषद विस्तार गर्दा प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गर्नुभयो । तर, हाम्रो यता (माओवादी पृष्ठभूमिका नेताहरुतर्फ) र्‍यांक एण्ड फाइल (कार्यकर्ता पंक्ति) चाहिँ खुसी छैनन्, त्यति हो,’ नेता थापाले भने, ‘फोन/सोन आउँछ । बादल दाइको मिसेसको कुरा भयो, त्यसमा अलिकति असन्तुष्टि छ । अरु पठाइदिएको भए हुन्थ्यो भन्ने खालको छ ।’

अध्यक्ष ओलीले बादललाई मात्रै काखी च्यापेर अगाडि बढ्न खोजेको कतिपय नेताहरुको गुनासो छ । त्यसो नगर्नका लागि उनीहरुले माओवादी पृष्ठभूमिका नेताहरुको छुट्टै छलफल गर्ने र अध्यक्ष ओलीसँग एक्लाएक्लै डिल गर्ने प्रयासलाई समेत जारी राखेका छन् । एक नेता भन्छन्, ‘अध्यक्ष ओलीले सबैलाई एउटै व्यवहार गर्न सकेनन् । बादललाई रेस्पोन्स गरे, अरुलाई गरेनन् भन्ने हामीलाई परेको छ ।’

प्रतिक्रिया