Pura Samachar

उपत्यकामा पैदलयात्रीकाे चहलपहलदेखि ट्राफिक जामसम्म

प्रकाशित: June 15, 2021

उपत्यकामा पैदलयात्रीकाे चहलपहलदेखि ट्राफिक जामसम्म

काठमाडौं । काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निरन्तर जारी निषेधाज्ञामा आज (मंगलवार) देखि केही खुकुलो भएसँगै उपत्यकामा ट्राफिक जाम शुरु भएको छ । निषेधाज्ञामा खुकुलो पारिएपछि मोटरसाइकललगायत चारपांग्रे निजी सवारी साधानहरु चल्न शुरु गरेका छन् जसबाट मुख्य चोकहरुमा ट्राफिक जामसमेत देखिएको छ ।

बिहान ९ देखि ११ बजेसम्मको उपत्यकाका मुख्य सडकमा सवारीको संख्यामा उल्लेख्य वृद्धि भएर ट्राफिक जाम देखिएको हो । आजदेखि खुकुलो पारिएको निषेधाज्ञाको समयमा पनि मास्क लगाएर हिँडडुल गर्न पाइने भएपछि सडकमा सर्वसाधारणको पनि उल्लेख्य चहलपहल देखिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले ७ असारसम्म निषेधाज्ञा थप्ने निर्णय गरेपछि आजबाट थपिएको निषेधाज्ञा खुकुलो बनेको हो ।

आजबाट केही कामकाज गर्न पाइनेछ। तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, ग्यास, खानेपानी, किराना पसल तथा डिपार्टमेन्ट स्टोर (ग्रोसरी मात्र) खोल्न पाइनेछ। यसका लागि बिहान ११ बजेसम्म समय तोकिएको छ। यसअघि ९ बजेसम्म मात्रै खोल्न दिइएको थियो।
त्यस्तै, पुस्तक पसल र प्रिन्टिङ प्रेस पनि बिहान ११ बजेसम्म खुल्नेछन्। विकास निर्माण सामग्रीका पसलहरू अपराह्न ४ बजेपछि खोल्न पाइनेछ। ठूलो परिमाणको ढुवानी भने राति मात्रै गर्न पर्नेछ।

आजबाट अत्यावश्यक सामानको होम डेलिभरी सेवा सञ्चालन हुनेछ। यसका लागि बिहानबाट साँझ ७ बजेसम्मको समय तोकिएको छ। यसअघि जस्तै आगामी सात दिन पनि अत्यावश्यक सेवाका सवारी साधन सञ्चालन गर्न पाइनेछ। तरकारी, फलफूल, खाद्यान्न, दुग्धजन्य पदार्थ, कुखुराको दाना, चल्ला, ग्यास, खानेपानी ढुवानीका साधन बिहान ९ देखि ११ बजेसम्म चलाउन पाइनेछ। यसका लागि सम्बन्धित सेवा लेखिएको ब्यानर वा प्रिन्ट टाँस्नुपर्नेछ।

अब सातामा दुई दिन सहकारी संस्था र रेमिट पनि खुल्नेछन्। यसका लागि आइतबार र बिहीबार तोकिएको छ।

प्रतिक्रिया