Pura Samachar

तत्काल मनसुन कमजोर हुँदैन

प्रकाशित: June 19, 2021

तत्काल मनसुन कमजोर हुँदैन

काठमाडौं – केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन् ।

यस वर्ष शुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

‘यस वर्ष मनसुन सक्रिय भएर भित्रिएकाले यो वायुको प्रभाव अझै केही दिन कायम रहने देखिन्छ’, मौसमविद् कँडेलले भन्नुभयो -‘त्यसैले केही दिन वर्षाको सिलसिला निरन्तर जारी रहन सक्छ ।’

केही दिनपछि भने यो वायुको प्रभाव निस्तेज हुने उहाँको भनाइ छ ।

मनसुन शुरु हुने औसत मितिभन्दा तीन दिनअघि नै यस वर्ष सक्रिय मनसुनले लगातार पानी पारिरहेको छ ।

विभागका अनुसार, अहिले पनि देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ भने प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा मनसुनी वायुले हल्का पानी पारिरहेको छ ।

आज दिउँसो भने देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ ।

प्रदेश नं १, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका थोरै स्थानमा भने मेघगर्जनसहित भारी वर्षाको सम्भावना महाशाखाले औँल्याएको छ ।

त्यसैले महाशाखाले यी क्षेत्रमा सतर्कता अपनाउन भनेको छ ।

महाशाखाका अनुसार वर्षाको यो सिलसिला आगामी आइतबार र सोमबार पनि जारी रहनेछ ।

प्रतिक्रिया