Pura Samachar

सबै परीक्षा भौतिक उपस्थितिमै गर्ने तयारी

प्रकाशित: June 20, 2021

सबै परीक्षा भौतिक उपस्थितिमै गर्ने तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोरोना महामारीका कारण रोकिएका वार्षिक परीक्षा साउनदेखि भौतिक उपस्थितिमै सञ्चालन गर्ने तयारी थालेको छ । संक्रमण जोखिम कम हुँदै गएकाले रोकिएका परीक्षा साउनदेखि सञ्चालन गर्ने तयारी भइरहेको हो ।

साउनदेखि परीक्षा सञ्चालन गरी सोही महिनाभित्रै सबै परीक्षा सकाउने त्रिविको योजना रहेको बताइएको छ । वैकल्पिक विधिबाट परीक्षा सञ्चालन नगरिने बताउदै अनलाइन फारम भर्न सम्म नसकेका विद्यार्थीले परीक्षा दिन सक्ने अवस्था नभएको हुनाले भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने तयारी भइ रहेको त्रिविका रजिष्ट्रार पेशल दाहालले जानकारी दिनु भयो । परीक्षाको समय तालिकाबारे अहिले त्रिविले तयारी गरिरहेको र स्वास्थ्य सुरक्षाको पूर्ण मापदण्ड पालना गरी परीक्षा सञ्चालन गरिने उहाँको भनाइ छ । विद्यार्थीहरुलाई पायक पर्ने ठाउँमा परीक्षा केन्द्रहरु तोकिने त्रिवीले जनाएको छ ।

त्रिविले दोस्रो लहरको कोरोना भाइरस तीव्र रुपमा फैलिएपछि सञ्चालन भइरहेका परीक्षा वैशाख १४ देखि वार्षिक परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको थियो । त्यसै बेला स्नातक तह दोस्रो वर्षको मानविकी, व्यवस्थापनलगायत संकायको परीक्षा सञ्चालन हुँदै थियो । त्रिविका अनुसार परीक्षा हुँदै गर्दा रोकिएका तह र स्नातक प्रथम वर्षको मानविकी, शिक्षा, व्यवस्थापनलगायत संकायको वार्षिक परीक्षा सञ्चालन हुन बाँकी रहेको छ ।

प्रतिक्रिया