Pura Samachar

र्थिक वर्ष २०७८/७९ को बजेट तथा कार्यक्रम केही संशोधनसहित सर्वसम्मतिमा पास

प्रकाशित: July 9, 2021

र्थिक वर्ष २०७८/७९ को बजेट तथा कार्यक्रम केही संशोधनसहित सर्वसम्मतिमा पास

काठमाडौं। आर्थिक वर्ष २०७८/७९ को बजेट तथा कार्यक्रम केही संशोधनसहित सर्वसम्मतिमा पास भएको भएको छ । नगरसभाको नवौँ अधिवेशनको छैटौँ बैठकले केही संशोधनसहित सर्वसम्मतिमा पास गरेको हो ।

असार १० गते बसेको नगरसभाको नवौँ अधिवेशनको चौथो बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘काठमाडौं महानगरपालिका आर्थिक विधेयक, २०७८’ पेस गर्नुभएको थियो । सोही बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आव २०७८/७९ का लागि बजेट पेस गर्नुभएको थियो । उहाँले कुल १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट पेस गर्नुभएको थियो ।

कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, भौतिक पूर्वाधार विकास, फोहोर–मैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धन, विद्युतीय शासनमार्फत् सुशासन प्रवर्द्धन, उद्यमशिलता प्रवर्द्धन जस्ता उदेश्य हासिल गर्ने लक्ष्यसहित प्रस्तुत बजेट संशोधनसहित सर्वसम्मतिले पारित भएको मेयर शाक्यले जानकारी दिनुभयो ।

कुल बजेट मध्ये सामाजिक सुरक्षाभत्ता नेपाल सरकार र प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रमहरु र आयोजनाको खर्च वापत २ अर्ब ८७ करोड ७ लाख रहेको महानगरपालिकाले जानकारी दिएको छ । १६ अर्ब ८ करोड ७० लाख १२ हजार काठमाडौँ महानगरपालिकाको संचितकोष मार्फत हुने खर्च हो । महानगरपालिकाले नै दिएको जानकारी अनुसार नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त शसर्त योजना (शिक्षक तलब, स्वास्थ्य, कृषि आदि) मा १ अर्ब ३२ करोड १४ लाख १० हजार रहेको छ । निशर्त बजेट भने १४ अर्ब ७६ करोड ५६ लाख २ हजार रहेको छ ।

आज पारित बजेटमा सबै करदातालाई ०७८ पुस मसान्तसम्म १० प्रतिशत छुट दिइएको छ भने होटललाई थप ८० प्रतिशत छुटको व्यवस्था गरिएको छ । ‘व्यवसाय करमा होटल मनोरञ्जन प्रदायक र पर्यटनसँग सम्बन्धित व्यवसायमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ,’ काठमाडौँ महानगरपालिका राजस्व विभागका प्रमुख डाक्टर शिवराज अधिकारीले भन्नुभयो, ‘अन्य व्यवसायहरुलाई २० प्रतिशत र शैलुन, व्युटिपार्रलर जस्ता व्यवसायलाई ९० प्रतिशत छुटको व्यवस्था गरेका छौँ ।’

आजको बैठकले न्यायिक समितिको प्रतिवेदन, सुशासन समितिको प्रतिवेदन, सहरी योजना आयोगको प्रतिवेदन पनि सर्वसम्मतिले पारित गरेको छ ।

प्रतिक्रिया