Pura Samachar

बागमती प्रदेशको आजको प्रदेशसभा बैठक चल्न दिने

प्रकाशित: July 11, 2021

बागमती प्रदेशको आजको प्रदेशसभा बैठक चल्न दिने

मकवानपुर । बागमती प्रदेशको आजको प्रदेशसभा बैठक चल्न दिने सरकार र प्रतिपक्षी दलबीच सहमति भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले संसदलाई विशेष सम्बोधन गर्ने भएपछि बैठक चल्न दिने सहमति भएको हो ।

शनिबार ३ बजे बस्ने भनिएको संसद बैठक प्रतिपक्षसँग सहमति जट्न नसक्दा स्थगित भएको थियो । प्रतिपक्षी दलसँग भएको वार्तामा मुख्यमन्त्रीले संसदमा प्रतिपक्षीको माग सम्बोधन गर्ने भएकाले बैठक सञ्चालन गर्न आग्रह गरेको प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्कट्टेलले बताउनु भयो । उहाँले आफूहरुले राखेको मागबारे मुख्यमन्त्रीले संसदबाटै समेटेर सम्बोधन गर्ने बताएको जानकारी दिनु भयो । मुख्यमन्त्रीको सम्बोधनमा माग नसमेटिए पुनः बैठक अवरुद्ध गर्ने जम्मकट्टेलको भनाइ छ । सरकारसँग शुक्रबार र शनिबार भएको वार्तामा प्रतिपक्षीको मागलाई लिएर कुनै सहमति नभएको उहाँले बताउनु भयो ।

प्रदेश सरकारले असन्तुलित ढंगले बजेट ल्याएको , कमिसनको लोभमा हतारमा विद्युतीय बस खरिद गर्न लागेको, औचित्यहीन सुरुङमार्ग निर्माण गर्न लागेको र आफू नियन्त्रित सञ्चार गृह सञ्चालन गर्न लागेको भन्दै प्रतिपक्षी दलले लगातार संसद बैठक अवरुद्ध गरेपछि बैठक बस्न सकेको छैन ।

आइतबार बिहान साढे ११ बजे बस्ने बैठकमा मुख्यमन्त्री डोरमणी पौडेलले सम्बोधन गर्ने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया