
काठमाडौं । बाग्मती प्रदेशका यातायात सम्बद्ध कर तथा राजस्व विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । आजदेखि यातायात सम्बद्ध सबै कर अब अनलाइनमा उपलब्ध इ–वालेट र बैंकिङ एपबाटै तिर्न सकिने भएको हो ।
यो सेवाको मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौडाबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यो सेवा लिन नागरिक एपमा पनि ‘सवारी कर’ सेवा राखिएको छ । त्यस्तै वेबपोर्टलबाट पनि यो सेवा लिन सकिने बताइएको छ ।
महामारीमा भीड कम गर्न पनि यो सुविधाले सघाउ पुग्ने बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले बताउनु भयो ।
सवारी चालक अनुमति शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवानालगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने भएको हो । यसले ब्लुबुक नवीकरण लगायतका काम गर्न राजस्व तिर्न लाइनमा बस्नुपर्ने बाध्यता हटाउने छ ।
प्रतिक्रिया