Pura Samachar

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच शीतल निवासमा छलफल

प्रकाशित: July 23, 2021

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच शीतल निवासमा  छलफल

२०७८ श्रावण ०८   राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज साँझ राष्ट्रपति भवनमा समसामयिक विषयमा छलफल भएको छ ।
“सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीज्यूबीच समसामयिक विषयमा छलफल भएको हो । सम्माननीयज्यूहरूबीच यो नियमित भेटवार्ता हो”,राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए ।


देउवा राष्ट्रपतिसँगको भेटका लागि सवा ६ बजे शीतल निवास पुगेका थिए। सो भेटवर्ता सवा ७ बजेसम्म भएको थियो। सर्वोच्च अदालतले परमादेश दिएपछि देउवा गएको असार २९ गते राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त भएका थिए। तर, सोही दिन राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्त गरेको भाषालाई लिएर विवाद भएको थियो। देउवाले भाषा नसच्याए शपथ नलिने अडान राखेपछि शपथ ग्रहण कार्यक्रम २ घण्टा ढिला भएको थियो।

संविधानको धारा उल्लेख नगरी सर्वोच्चको परमादेश बमोजिम प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख भएपछि देउवाले त्यसमा विरोध जनाएका थिए। पछि राष्ट्रपति भण्डारीले संविधानको धारा उल्लेख गर्न तयार भएपछि शपथ भएको थियो।

देउवा प्रधानमन्त्री नियुक्त भएकै दिनदेखि राष्ट्रपति र प्रधानमन्त्रीबीच टसल शुरु भएको थियो। नियमित भेट प्रधानमन्त्री नियुक्त भएको १० दिनपछि भएको छ।

यसैबीच शुक्रबार नै राष्ट्रपति भण्डारीले प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग पनि भेट गरेकी छन्। शुक्रबार दिउँसो उनीहरुबीच दुई घण्टा लामो भेट भएको बताइएको छ।यो भेटबारे शीतल निवासले केही जानकारी दिएको छैन।

प्रतिक्रिया