Pura Samachar

यही अवस्थामा कोरोनाका बिरामी भर्ना हुने क्रम बढे छिट्टै अन्य सेवा बन्द गरेर कोभिड सेवा मात्र सञ्चालन गर्नुपर्ने स्थिति आउनसक्ने

प्रकाशित: July 30, 2021

यही अवस्थामा कोरोनाका बिरामी भर्ना हुने क्रम बढे छिट्टै अन्य सेवा बन्द गरेर कोभिड सेवा मात्र सञ्चालन गर्नुपर्ने स्थिति आउनसक्ने

साउन १५, २०७८

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) अस्पतालमा गत दुई सातायता कोरोनाका बिरामी भर्ना हुने क्रम बढेको छ।

अस्पतालका निर्देशक डा. दिनेश काफ्लेका अनुसार दुई साता अघि सयभन्दा कम बिरामी रहेकोमा आज (शुक्रबार) १ सय २९ जना बिरामी उपचाररत् छन्।

अहिले दैनिक भर्ना हुने कोरोनाका बिरामी लगातार बढेको भन्दै निर्देशक काफ्लेले भने,’दैनिक १५ देखि २९ जना बिरामीहरू भर्ना हुने गरेका छन्। हिजो रातिमात्र १६ जना बिरामी भर्ना भएका छन्। कोभिडका लागि छुट्याइएको ३० वटा आइसियू पूरै प्याक छ।’

डा. काफ्लेले यही अवस्थामा कोरोनाका बिरामी भर्ना हुने क्रम बढे छिट्टै अन्य सेवा बन्द गरेर कोभिड सेवा मात्र सञ्चालन गर्नुपर्ने स्थिति आउनसक्ने बताए।

‘अहिले अस्पतालमा कोभिडबाहेक अन्य सेवा पनि पुन: सञ्चालन छ। तर फेरि अन्य सेवालाई बन्द गरेर कोभिड सेवामात्र सञ्चालन गर्नुपर्ने हुनसक्छ,’ उनले भने, ‘अझै सावधानी नअपनाउने हो भने एक-दुई सातामा कुन अवस्थामा जान्छ, आकलन गर्ने स्थिति छैन। स्थिति भयावह हुन्छ। हामी पनि अहिले ‘प्रेसर’ मा छौं।’

केही दिनदेखि बढेको संक्रमितको चापले अहिले अस्पतालले थप बिरामीहरूको उपचार कसरी व्यवस्थापन गर्ने भनेर आन्तरिक तयारी गरिरहेको छ।

निर्देशक काफ्लेले यसअघि कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीलगायत अन्य कर्मचारी संक्रमण घटेपछि अन्य सेवामा खट्न थालेको भन्दै अब फेरि ती स्वास्थ्यकर्मीलाई ल्याउनलाई समय लाग्ने बताए।

उनले आजैमात्र मेडिकल अफिसरहरूको परीक्षा लिइएको र केही स्वास्थ्यकर्मी त्यसबाट पूर्ति गरिने जनाए।

ncell in
त्यसबाहेक नर्सहरू पनि अभाव हुने देखिएको छ।

डा. काफ्ले भन्छन्,’आइसियूमा रहेका एक जना बिरामीका लागि एक जना नर्स चाहिन्छ। त्यसैले १२ वटा आइसियू हेर्नलाई लगभग ५४ जना त नर्स नै आवश्यक पर्छ। त्यसको पूर्ति कसरी गर्ने भनेर हामी तयारी गरिरहेका छौं।’

स्वास्थ्य मन्त्रालयले समेत संक्रमणको तेस्रो लहर आउनसक्ने भन्दै बारम्बार सूचना निकालिरहेको छ।

केही दिनअघि मात्र मन्त्रालयले सातै वटा प्रदेशहरूलाई कम्तीमा एक हजार वटा अक्सिजन सिलिन्डर भरेर तयारी अवस्थामा राख्न निर्देशन दिएको थियो।

दोस्रो लहरमा अक्सिजनको चरम अभाव देखिएकाले पनि मन्त्रालयले बेलैमा सो निर्देशन दिएको हो।

निर्देशक काफ्लेले भने यसपटक भने दोस्रो लहरमा जस्तो अक्सिजनको चरम अभाव नहुने बताए।

‘योभन्दा अगाडि अक्सिजनको अलिक गाह्रो थियो। यसपालि त्यो नहोला। हामीले अहिले लिक्विड ट्यांक पनि जोडिसकेको अवस्था छ। आन्तरिक उत्पादनलाई पनि बढाउन सकिने अवस्था छ,’ उनले भने।

विज्ञहरूले समेत संक्रमणको तेस्रो लहर अघिल्लो लहरहरूजस्तो घातक नहुनसक्ने बताएका छन्। त्यसका पछाडि मुख्यत दुइटा कारणहरू छन्।

पहिलो भनेको धेरै मानिसहरू संक्रमित भइसकेका छन्। जसले गर्दा उनीहरूमा भाइरसविरूद्ध लड्ने प्राकृतिक ‘एन्टिबडी’ विकास भएको हुन्छ।

दोस्रो भनेको अहिले धेरै मानिसहरूले खोप लगाएका छन्। निर्देशक काफ्लेले पनि अहिले अस्पतालमा भर्ना हुने नयाँ बिरामीमध्ये धेरै जना खोप नलगाएकाहरू रहेको जनाए।

तर त्यसो भन्दैमा सावधानीका उपाय पालना गर्न हेलचेक्राइँ गर्न नहुने डा. काफ्लेको सुझाव छ।

उनले अहिले धेरै संक्रमण नै खोप लगाउन जाँदा त्यहाँ हुने भिडभाडबाट भएको भन्दै त्यस्ता ठाउँहरूमा जाँदा दूरी कायम गर्नुपर्ने जनाए।

गत साता स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा टेकु अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले अहिले धेरै मानिसहरू खोप लगाउन गएको पाँच दिनपछि कोरोनाका लक्षण बोकेर अस्पताल आउने क्रम बढेको बताएका थिए।

त्यसैले भिडभाड हुने ठाउँहरूमा भौतिक दूरी कायम गर्न चिकित्सकहरूको सुझाव छ।

अहिले निषेधाज्ञा खुकुलो भएकाले पनि यसबाट संक्रमण सर्ने जोखिम उच्च रहेको भन्दै झन् बढी सतर्कता अपाउनुपर्ने चिकित्सकहरू बताउँछन्।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पनि केही दिनदेखि संक्रमण बढेको पाइएको छ।

प्रतिक्रिया