
डा.डी.आर.उपाध्याय
आइतबार, साउन २४, २०७८
प्रचलित वाद वा सिद्धान्तको लेबल टाँसेर संसारका तथा हाम्रै देशका विभिन्न राजनीतिक संगठन एवं राजनीतिज्ञहरूले राष्ट्रवाद वा राष्ट्रियतासँग आपूmखुशी कस्ता–कस्ता खेलबाड गरिरहेका छन्, बेलाबखत राजनीतिको मर्मलाई नै आहत पार्ने गरी चर्चामा आउने गरेको छ । बहसमा प्रवेश गर्नुपूर्व विश्वको राजनीतिसहित जनजीवनमा प्रभावशाली भूमिका निर्वाह गरिरहेका चर्चित केही ‘वाद’ लाई शब्दकोषहरूले कसरी परिभाषित गरेका छन् त्यसलाई दृष्टिगत गर्नु उपयुक्त हुनेछ ।
राष्ट्रवाद–आफ्नो राष्ट्रको उन्नति र हितलाई सर्वोपरी मान्ने सिद्धान्त वा राष्ट्र र राष्ट्रियताप्रतिको भक्ति–भावना । २– मध्ययुगीन सामन्ती निरंकुशताका विरुद्धमा राष्ट्रिय स्वतन्त्रताको आवाज उठेको, पुँजीवादी चिन्तन विचारधारा ।
समाजवाद–समाजमा रहेको आर्थिक विषमता हटाई समता ल्याउनुपर्छ भन्ने र देशको सम्पूर्ण सम्पत्तिमा कसैको एकलौटी अधिकार हुन नदिई सबैले मिलेर परिश्रम गर्दै उत्पादन र उपभोक्ताका साधनमा समाजको साझा अधिकार रहनुपर्छ भन्ने राजनीतिक सिद्धान्त । यसकै एउटा शाखाका रूपमा साम्यवाद पनि रहेको छ ।
पुँजीवाद–कार्ल माक्र्स र उनका अनुयायीका मतअनुसार उत्पादनका प्रमुख साधन तथा उत्पादित वस्तुहरूको वितरणमा पुँजीपतिको व्यक्तिगत स्वामित्व भएको आर्थिक व्यवस्था; उत्पादनमा भूमि, श्रम आदिका अपेक्षा पुँजीकै सर्वोपरी भूमिका मान्ने आर्थिक व्यवस्था ।
माओवाद–सर्वहारा वर्गको मुक्तिका लागि चीनका क्रान्तिकारी नेता माओत्से तुङले माक्र्स–लेनिनवादमा गरेको विकास र योगदानलाई नै विश्व कम्युनिष्ट आन्दोलनमा माओवाद भनिन्छ । माओवाद माओको यी दुई प्रसिद्ध सूत्रअनुसार काम गर्छ, १– राजनीतिक सत्ता बन्दुकको नालबाट निस्कन्छ, २–राजनीति रक्तपातरहित युद्ध हो र युद्ध रक्तपातयुक्त राजनीति हो ।
आतंकवाद– मानिसलाई डराएर, धम्काएर र त्रास उत्पन्न गराएर हिंसात्मक विद्रोहका रूपमा प्रभुत्व स्थापन वा कार्यसिद्धि गर्ने विचार वा सिद्धान्त ।
अनेक वादहरूको चाङ लगाई राष्ट्रवादलाई राजनीतिक सफलताको भ¥याङ बनाउने गरिएको आरोप मिथ्या रहेको सजिलै भन्न सकिँदैन । आधुनिक नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले आफ्नो दिव्य उपदेशमा– ‘यो राजे (राज्य) दुई ढुंगाबीचको तरुलजस्तो रहेछ’, दर्शाएदेखि नै राष्ट्रवादको भावना नेपाली मनमा प्रष्फुरण भएको मान्न सकिन्छ । समयक्रमसँगै पृथ्वीनारायण शाहले इंगित गरेबमोजिम दुई शक्तितशाली छिमेकी राष्ट्रहरू चीन र भारतको आधुनिक विश्व मानचित्रमा भएको विस्तार तथा बढ्दै गएको प्रभावले नेपालमा राष्ट्रवादलाई नेपालीको अस्तित्वमै प्रत्यारोपित गरिदियो । अहिले आएर यो सिंगो नेपाली राजनीतिको प्राण नै बन्न पुगेको छ ।
तर, जस्तो कि राष्ट्रवादलाई व्याख्या गरिएको छ– आफ्नो राष्ट्रको उन्नति र हितलाई सर्वोपरि मान्ने सिद्धान्त वा राष्ट्र र राष्ट्रियताप्रतिको भक्ति भावना । सही अर्थमा विश्वका विभिन्न राष्ट्र तथा नेपालमा राष्ट्रवादका अनुयायीले इमानदारीपूर्वक यस सिद्धान्तलाई व्यवहारमा कसरी लागू गरिरहेका छन् ? यो प्रश्न अत्यन्त गम्भीर रूपमा उठ्न थालेको छ । अफगानिस्तान, पाकिस्तान, इराक, सिरिया, इजरायल, इरान, सुडान, युगाण्डालगायत विभिन्न राष्ट्रमा सक्रिय रहेका सशस्त्र संगठनहरू आइएसआइएस, अलकायदा, तालिवान, लस्कर–ए–तैयबा, बोको हराम, अलनुसरा फ्रन्ट, जेमाह इस्लामिया, अबु सøयाफ आदि विश्व शान्तिकै निम्ति गम्भीर चुनौती बनेका छन् ।
मूलधारको राजनीतिले यिनीहरूलाई आतंकवादीको संज्ञा दिन्छ भने यी संगठनहरूले आपूmलाई जेहादी तथा स्वतन्त्रताका पक्षधर लडाकु भनी चिनाउँछन् । राष्ट्रवादले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा यहाँ पनि आफ्नो उपस्थिति दर्शाउँछ । उक्त राष्ट्रहरूमा संस्थापन र विद्रोही दुवैबीच राष्ट्रवादलाई अघि सार्ने प्रयत्न गरिन्छ । तर, राष्ट्रवादको परिभाषाको सर्वथाविपरीत परिस्थिति वर्षौंदेखि ती राष्ट्रले व्यहोर्दै आएका छन् । राष्ट्रको उन्नति र हित प्रतिदिन त्यहाँ ध्वस्त बनिरहेको छ । आत्मघाती बम विष्फोट, रकेट लन्चरबाट गरिने प्रक्ष्येपाश्त्र प्रहार, ड्रोनहरूबाट बम वर्षा तथा भीषण भिडन्तहरूले सुन्दर संरचना भएका शहरहरू भग्नावशेषमा परिणत भइरहेका छन् ।
आतंकवादले यस्ता राष्ट्रहरूमा राष्ट्रवादको मुखौटा लगाएर ताण्डव नृत्य गरिरहेको छ । यो यथार्थ बुझेर अनेक तर्कविकर्त एवं शब्दविन्यासबाट आपूmलाई दोषमुक्त गर्ने प्रयास सबैले गरेका छन् । विध्वंश र विनाश जारी छ तर त्यसको जिम्मेवारी अर्काको शिरमा थोपर्न खोजिन्छ ।
पुँजीवाद, समाजवाद, माओवादका प्रतिपादक वर्तमान राजनीतिक परिदृश्यमा यी सिद्धान्तहरूको निर्लज्जतापूर्वक भइरहेको दुरुपयोगका कारण चिरनिद्रामा पनि अशान्ति एवं पश्चातापले घेरिएका होलान् । राष्ट्रको उन्नति र हितलाई सर्वोपरी राखेर प्रतिपादित ती वाद वा सिद्धान्त अहिले सिंगो राष्ट्र वा समाजभन्दा सीमित व्यक्ति विशेषको उन्नति र हितका निम्ति प्रयोग भइरहेका छन् । यसको अनगन्ती उदाहरण जताततै भेटिन्छ । राष्ट्रहरूको हित वा उन्नति पटक्कै नभएको भने होइन ।
तर, तुलनात्मक रूपमा राष्ट्रलाई दोस्रो प्राथमिकतामा राखी व्यक्ति विशेषले आफ्नो स्वार्थलाई प्रमुखता दिएकै कारण आज विश्व अशान्त हुँदै विनाशको जोखिममा परेको छ । संसारको कुनै देशमा आक्रमण मन्त्रालय छैन, जहाँ पनि केवल रक्षा मन्त्रालय छ तर युद्ध कहिल्यै रोकिएको छैन । राष्ट्रवादको छाती दिनहुँ छियाछिया पार्ने यस बेइमानीको उत्तरदायित्व कसैले नलिनु अर्को विकराल बेइमानी नभए अरू के हो ?
२०३६ सालदेखि प्रजातन्त्र–लोकतन्त्रका आन्दोलनहरूको सिलसिला सुरु भएपछि राष्ट्रवाद र राष्ट्रघातबीचको द्वन्द्व झनै खुलेर हुन थाल्यो । छिमेकी राष्ट्रहरूसँग हुने गरेका सन्धि–सम्झौता–सहमतिमा राष्ट्रवाद र राष्ट्रघातको आपूmखुशी व्याख्याले सर्वसाधारण नेपाली जनतालाई अल्मलाउन थाल्यो । सत्तारुढ रहँदा राष्ट्रको उन्नति र हितका लागि गरिएको भनी विभिन्न राष्ट्रसँग गरिएका सन्धि–सम्झौता सोही राजनीतिक दल वा राजनीतिज्ञका निम्ति सत्ताच्युत भएर प्रतिपक्षमा पुग्ने बित्तिकै राष्ट्रघाती बन्नुको विडम्बना अभैmसम्म हामीले देख्नु परिरहेको छ । राष्ट्रवादकै प्रमुख मुद्दा लिएर भएको दश वर्षे सशस्त्र माओवादी द्वन्द्वले राष्ट्रलाई के उपलब्धि भयो र राजनेताहरूको व्यक्तिगत–पारिवारिक अवस्था कहाँबाट कहाँ पुग्यो कसैबाट लुकेको छैन ।
२५० वर्षको इतिहास बोकेको शाह वंशीय राजसंस्थालाई राष्ट्रवाद सुहाउँदो नभएको मान्दै लोकतन्त्रवादीले राजसिंहासनबाट पाखा लगाए । अहिले आएर तिनैमध्येका धेरैले राष्ट्रवादको संरक्षक पूर्वराजसंस्थालाई नै मान्न थालेका छन् । राजसंस्था फर्काउन राजा आऊ देश बचाउका नारा बेलाबेला घन्किने गरेका छन् । यसरी राष्ट्रवादलाई अवसरवादको हतियार बनाउने मानसिकता अधिकांश राजनीतिक दल एवं दिग्गज कहलिएका राजनेताहरूले त्याग नगरेकै कारण राष्ट्रवादको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गएको छ । राष्ट्रवादलाई प्रदर्शनीमा राखेर जति दलाली नेपालमा भएको छ त्यो अन्यत्र विरलै भएको होला । यही दलालीको परिणामस्वरूप अचेल राष्ट्रकै अस्तित्व खतरामा परेको चेतावनी हामी आपसमै दिन थालेका छौं । साभार हिमालय टाइम्स
प्रतिक्रिया