Pura Samachar

मन्त्री पाण्डेयको राजीनामा

प्रकाशित: August 11, 2021

मन्त्री पाण्डेयको राजीनामा

लुम्बीनी । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिनु भएको छ । जनता समाजवादी पार्टीबाट मन्त्री बन्नु भएका उहाँले मंगलबार मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा बुझाउनु भएको हो ।

मंगलबार जसपाको संसदीय दलको बैठकले लुम्बिनी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको र सोही निर्णयअनुसार राजीनामा दिएको उहाँले बताउनु भएको छ । सिद्धान्तको आधारमा राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनु नै उपयुक्त ठानेर आफूले राजीनामा दिएको उहाँको भनाइ छ ।
गत वैशाख ६ गते पोखरेल नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्री बनेका जसपाका तीनै जनालाई पार्टीले कारबाही गर्दै सांसद पदबाट हटाउन प्रदेशसभा सचिवालयलाई सिफारिस गरेको थियो । सोहीबमोजिम प्रदेससभा सचिवालयले उनीहरुलाई सांसद पदबाट मुक्त पनि गरेको थियो । जसपाबाट मन्त्री बनेका विजयबहादुर यादव र कल्पना पाण्डेयले भने राजीनामा दिनु भएको छैन ।

पार्टीले कारबाही गरेपछि उहाँहरु तीनै जना त्यसका विरुद्ध सर्वोच्च अदालतमा पुग्नु भएको थियो । तर, सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेका कारण तीनै जनाको सांसद पद भने गुमिसकेको छ ।

प्रतिक्रिया