Pura Samachar

किशोरकिशोरीका लागि ४० लाख खोप खरिद गर्ने सम्झौता

प्रकाशित: August 13, 2021

किशोरकिशोरीका लागि ४० लाख खोप खरिद गर्ने सम्झौता

काठमाडौं । सरकारले बालबालिका तथा किशोर किशोरीको लागि कोरोनाविरुद्धको मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको छ ।

सरकारले १२ देखि १७ वर्षका बालबालिका तथा किशोर किशोरीका लागि लक्षित गरी मोर्डनाको ४० लाख डोज खोप खरिदको सम्झौता गरेको हो । उक्त खोप सन् २०२२ को मार्चसम्म नेपाल आइपुग्ने बताइएको छ ।

विश्व बैंकको वित्तिय सहयोगमा कोभ्याक्ससँग लागत साझेदारी मार्फत खरिद गरिने खोपका लागि खोपसँग सम्बन्धित विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता भएको छ । योसँगै नेपाल कोभ्याक्ससँग लागत–साझेदारी विकल्प उपयोग गर्ने दक्षिण एसियाकै पहिलो बनेको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १२ वर्ष उमेर माथिका नेपालीलाई खोपको विकल्प विस्तार गर्न मद्दत गर्ने बताउनुभयो । नेपाल, माल्दिभ्स तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले यो सहयोग समग्र कोभिड प्रतिकार्यको एक मुख्य अंश भएको बताउनु भएको छ ।

कोरोना महामारी विरूद्धको स्वास्थ्य प्रतिकार्यका लागि विश्व बैंकले १०४ मिलियन डलर उपलब्ध गराएको छ । जसमध्ये ६७.५ मिलियन खोेप खरिद र विस्तारमा खर्च हुनेछ ।

प्रतिक्रिया