
काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले आजै र नभए भोलि बुधवार अध्यादेश ल्याउने तयारी गरेको गठबन्धनका एक नेताले बताए । अध्यादेश ल्याउन सरकारले सोमबार नै संसदको चालु अधिवेशन अन्त्य गरिसकेको छ।
अध्यादेशमा के के छन् प्रावधान ?
सरकारले ल्याउन लागेको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय समिति २५ प्रतिशत सदस्यले अर्को दल गठन गर्न सक्ने प्रावधान राखिने बताइएको छ।
अहिले दल विभाजन गर्न केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत बहुमत चाहिन्छ।
यसैबीच एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य गरेकोमा विरोध गर्नुभएको छ ।
सोमवार साँझ एक विज्ञप्ति जारी गरि ओलीले पूर्वघोषित प्रतिवद्धताविपरीत प्रतिनिधि सभाको चालु अधिवेशन हठात अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र नेकपा एमालेलाई विभाजित गर्ने षड्यन्त्र गरिएको उल्लेख गर्नुभएको छ । उहाँले पार्टी विभाजन गर्ने षड्यन्त्र मान्य र क्षम्य हुन नसक्ने पनि बताउनुभएको छ ।
त्यसो त ओली आफैं प्रधानमन्त्री हुँदा पनि दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनुभएको थियो । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी फुट्न सजिलो हुने गरी गत वर्ष वैशाख ८ गते ओली सरकारले अध्यादेश ल्याएको थियो। उक्त अध्यादेशबाट जोगिन यादव नेतृत्वको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच रातारात एकता भएको थियो।
तर तीव्र आलोचना भएपछि ओली सरकारले पछि उक्त अध्यादेश फिर्ता लिएको थियो।
प्रतिक्रिया