Pura Samachar

क्रियाशील सदस्यता विवाद सम्बन्धी प्रतिवेदन आज बुझाउने तयारी

प्रकाशित: August 23, 2021

क्रियाशील सदस्यता विवाद सम्बन्धी प्रतिवेदन आज बुझाउने तयारी

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले तयार पारेको प्रतिवेदन सोमबार बुझाउँने तयारी गरेको छ ।

प्रतिवेदन अपराह्न ५ बजेभित्र  प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने समितिको तयारी छ ।

आइतवार केही विषयमा नमिलेको कारण प्रतिवेदन बुझाउन नसकिएको तर अहिले लगभग सहमति बनेकोले सोमवार नै बुझाउने तयारी भएको समिति सदस्य रमेश लेखकले बताउनुभयो ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले पनि समितिले अपराह्न ५ बजेसम्ममा प्रतिवेदन बुझाउने तयारी गरेको बताउनुभयो ।

तर, देउवानिकट एक पदाधिकारीले भने आजै प्रतिवेदन बुझाउनेमा शंका व्यक्त गरे । समितिले सभापतिलाई नबुझाएसम्म अधिवेशनको मिति तोक्न नसकिने उनले बताए ।

गएको साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो । डा मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिलाई भदौ २ गते क्रियाशील सदस्यता विवरण बुझाउन समय तोकी जिम्मा दिइएको थियो । तर, समितिले भदौ पहिलो साता पुग्दा समेत प्रतिवेदन बुझाउन सकेको छैन ।

कांग्रेसले यही भदौ १८ गतेबाट वडा अधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया