Pura Samachar

रुटको शतकले इङ्ल्यान्डलाई फराकिलो अग्रता

प्रकाशित: August 27, 2021

रुटको शतकले इङ्ल्यान्डलाई फराकिलो अग्रता

काठमाडौं । करिअरकै उत्कृष्ट लयमा रहेका जो रुटले अर्को शतक बनाएपछि इङ्ल्यान्डले भारतविरुद्ध तेस्रो टेष्ट क्रिकेटको दोस्रो दिन ३४५ रनको अग्रता लिएको छ ।

पहिलो टेष्टमा १०९ र दोस्रो टेष्टमा १८० रन बनाएका रुटले बिहीबार १२१ रन बनाएपछि दोस्रो दिन सकिँदा इङ्ल्यान्ड ४२३/८ को स्थितिमा छ । लिड्सस्थित हेडिङ्ले क्रिकेट मैदानमा इङ्ल्यान्डका आली रोबिन्सन शून्य र क्राइग ओभरटन २४ रन बनाएर क्रिजमा छन् ।

रुट अहिले करिअरकै उत्कृष्ट लयमा छन् । टेष्ट क्रिकेटमा उनको यो २३औं शतक हो । उनले इङ्ल्यान्डमा एकै वर्ष सबभन्दा धेरै शतक बनाउने खेलाडीको कीर्तिमान बनाएका छन् । एकै वर्षमा यसअघि इङ्ल्यान्डका कुनै पनि कप्तानले ६ शतक बनाएका थिएनन् । रुटले २०२१ मा ६९.९० को औसतले २१ इनिङ्समा एक हजार ३९८ रन बनाइसकेका छन् ।

‘‘रुटबाट युवा खेलाडीले सिक्नुपर्ने धेरै कुरा छन्,’’ इङ्ल्यान्डका ओपनर हसीब हमीदले भने, ‘‘उनी विश्वकै उत्कृष्ट खेलाडी हुन् । मलाई उनको सरलता मन पर्छ । उनी मिहिनेती र मानसिक रुपमा पनि बलियो छन् ।’’

भ्रमणकारी भारत ७८ रनमा अलआउट भएपछि इङ्ल्यान्डले पहिलो दिनको समाप्तीमा विना विकेट क्षति १२० रन बनाएको थियो । दोस्रो दिन थाल्दा इङ्ल्यान्डका ओपनर रोरी बर्न्स ५२ र हसीब हमीदले ६० रन बनाएर क्रिजमा थिए । बर्न्सले ६१ र हमीदले ६८ रन जोडे । डविड मालानले ७०, जोनी बेएरिष्टोले २९ रन बनाए ।

भारतका मोहम्मद सामीले तीन तथा मोहम्मद सिराज र रविन्द्र जडेजाले समान दुई विकेट लिए । जसप्रित बुमराहको नाममा एक विकेट छ ।

प्रतिक्रिया