
खगेन्द्र पराजुली
नवलपुर । पहिरोमा पुरिएर बेपत्ता भएका तीन जनाको शव फेला परेको छ । शुक्रवार बिहानदेखि खोजतलास गर्दा आज शनिवार दिउँसो एकै परिवारका तीन जनाको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको नवलपुर प्रहरीले जनाएको छ।
एकै परिवारका ४० वर्षीया धनमाया पुलामी, नातिनीहरु ६ र ७ वर्षका देउमाया र भूमीसरा पुलामीको शव फेला परेको प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मधुसुदन सिंहले जानकारी दिनुभयो ।
बुधवार रातीदेखि निरन्तर परेको वर्षाका कारण हुप्सेकोट गाउँपालिकाको पहाडी गाउँ रुम्सीको चारघरेमा बिहीवार राती तीन जना हराईरहेका थिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले शुक्रवार बिहानैदेखि खोजतलास कार्य गरिरहेका थिए । शुक्रवार दिन भरको खोजतलासपछि फेला पार्न नसकेपछि आज शनिवार उद्वार र खोजतलासका लागि भन्दै थप औजारसहित सुरक्षाकर्मी घटनास्थलतर्फ गएकोमा उनीहरु नपुग्दै हिजोदेखि खोजतलासमा खटिएको टोलीले शव फेला पारेको हो ।
प्रतिक्रिया