Pura Samachar

कीर्तिमानै कीर्तिमानभित्र डा. डीआर उपाध्याय

प्रकाशित: August 31, 2021

कीर्तिमानै कीर्तिमानभित्र डा. डीआर उपाध्याय

डा.डीआर उपाध्याय मैले सुनिरहेकै नाम हो तर हाम्रो देखभेट भने भएको थिएन । उहाँका तर्कपूर्ण लेखहरूको पहिलो पाठक भने मै बन्ने गरेको थिएँ । उहाँ लेख्नुहुन्छ तर म कार्यरत पत्रिका हिमालय टाइम्स नेपाली राष्ट्रिय दैनिकमा निकै पातलै आउने गरेका छन् उहाँका लेखहरू । सामाजिक सञ्जालमा उहाँका अनेकौं विश्वकीर्तिमानहरू कायम भएको हेर्दै आएको थिएँ । केही समय पहिले एक दिनमित्र कृष्ण भुसालले सर यो लेख भोलि नै छापिदिनुस् रे भनेर उपाध्यायको लेख पठाउनुभयो ।

त्यस दिनको तयारी मैले गरिसकेको थिएँ र उहाँले पठाउनु भएको लेख जहिले छापे पनि हुने खालको थियो । त्यसैले अर्को दिन छापौंला जस्तो लागेको थियो तर अर्को एकजना लेखकको लेख हटाउन सम्भव भएको हुँदा उहाँको लेख भनेकै दिन छापियो । पछि कारण बुझ्दा विभिन्न पत्रिका र अनलाइनमा गरेर ४२ वटा पत्रिकामा एकै पटक लेख छापेर विश्व कीर्तिमान कायम गर्न प्रयास गर्नुभएको रहेछ उहाँले । ४२ वटा मध्ये ६ वटा छापिएनछन् र ३६ वटा छापिएछन् तैपनि रेकर्ड कायम भएछ । उहाँले यसको प्रमाणपत्र प्रधानमन्त्री शेरबहादुर देउवाका हातबाट हालै प्राप्त गरिसक्नु भएको छ ।

यसैगरी गीत लेखनको विविधताबाट विभिन्न सातवटा विश्व कीर्तिमानहरू उहाँलाई हालैमात्र प्राप्त भएका हुन् । २०७८ साल भदौ १० गते पूर्वश्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवले उहाँलाई यी विभिन्न कीर्तिमानहरू हस्तान्तर गर्नुभएको थियो । यससहित उहाँका विभिन्न ५९ वटा विश्वकीर्तिमान कायम भएका हुन् ।

साउनको आधाआधितिर कृष्ण भुसालले मिलाउनु भएको समयबमोजिम हामी डा.डीआर उपाध्यायकै निवासमा सञ्चालित उहाँको कार्यकक्ष लामपोखरी चावहिलमा पुग्यौं । यस्तै–यस्तै विश्वकीर्तमानीलगायत विविध काम गर्ने उहाँको कार्यकक्षमा नेपली सिनेजगतका केही निर्देशक र कलाकारहरूसँग समेत भेट भयो । उहाँका घर कोठामा हजारौंको संख्यामा प्रमाणपत्रहरू रहेका देख्दा नै आश्चर्य लाग्यो । हामीले आआफ्ना कृतिहरूको आदानप्रदान ग¥यौं । डीआर उपाध्याय सोचेकै जस्तो ठट्टेउलो, हँसिलो र बोलैया । केही समसामयिक, केही साहित्य, संस्कृति, कला र केही आआफ्ना स्वास्थ्य समस्याका बारेमा हामीले केही अनौपचारिक गफ ग¥यौं । मीठो कफीसँगै हाम्रो कुराकानी चल्यो झण्डै एक घण्टा जति ।

कीर्तिमानी गीतकार आफूभित्रको सिर्जनशील प्रतिभाको सफल प्रदर्शन गर्दै कला साहित्यको आराधनामा तल्लीन हुनुहुन्छ उहाँ । पर्सा जिल्लाको वीरगञ्जमा पिता शिवशंकरप्रसाद उपाध्याय र माता उमादेवी खनाल उपाध्यायको कान्छा सुपुत्रको रूपमा सन् १९६२ मा जन्मिनुभएका उपाध्यायको वास्तविक नाम धर्मराज उपाध्याय हो । बाल्यकाल आफ्ना मातापितासँगै रहेर वीरगञ्जमै बिताउनुभएका उपाध्यायले गाउँकै त्रि–जुद्ध व्यावसायिक माविबाट २०३५ सालमा एसएलसी तह उत्तीर्ण गर्नुभएपछि उच्च शिक्षाका लागि काठमाडौं आउनुभयो । पछि भारतबाट विद्यावारिधिसम्मको उपाधिसमेत हासिल गर्नुभयो ।

सानैदेखि नै उहाँको गीत तथा कविता लेखनमा रुचि थियो । उहाँ कविता तथा गीतहरू लेखेर परिवारका सदस्य र साथीसँगीलाई देखाउनुहुन्थ्यो, सुनाउनुहुन्थ्यो । सबै जनाबाट प्रसंशा र हौसला पाएपछि उहाँको मनमा अझ उत्साह भरिन्थ्यो ।  चर्चित बन्ने चाहना सबैको हुन्छ । रुचि, खुबी र लगनशीलताबाट मात्र सफलताका सिँढीहरू उक्लिन सकिन्छ । सयौं कालजयी गीतका स्रष्टा उपाध्याय पनि आफूभित्रको सिर्जनात्मक शक्ति र रुचि बुझेर यस क्षेत्रमा लगनशीलताका साथ होमिनुभयो । फलस्वरूप आज गीत संगीतको फाँटमा उहाँ सशक्त स्रष्टाको रूपमा परिचित हुनुहुन्छ । तनहुँ पुख्र्यौली थलो भए पनि उहाँका पुर्खा वीरगञ्ज बसाइँ सरेका थिए । त्यहीँ उहाँ हुर्किनु भयो ।

हाल उहाँ आफ्नो अनेक परिचय बनाउँदै काठमाडौं महानगरपनलिका ७ को चावहिलमा बसोबास गरिरहनु भएको छ । १७ वर्षको उमेरदेखि सुरु भएकोे उहाँको लेखनले चार दशक पार गरिसकेको छ । उहाँले लेख्नुभयो र निरन्तर लेखिरहनुभएको छ । एघारवटा उपन्यास प्रकाशित छन् उहाँका ‘सपनाकी रानी’ २०७६ भदौमा र ‘कफी लभ’ २०७७ सालमा प्रकाशित उहाँका उपन्यासहरू हुन् ।

उहाँले २०७६ सालमै अपवित्र छायाँ, अतिरिक्त, भाग्यचक्र, दगाबाज, त्यागी, बिटुली, बज्राघात र स्वार्थी गरी आठवटा उपन्यासको एउटै संग्रहमा प्रकाशित गराउनुभयो । शायद उपन्यास संग्रह नेपाली साहित्यमा एउटा प्रयोग हुनसक्छ । ६६५ पृष्ठको यस संग्रहको आयतन जति ठूलो छ यसले उहाँको उचाइ त्यति नै उच्च बनाएको छ । यसपछि पनि उहाँको ‘अधुरो प्रेम’ शीर्षकको उपन्यास प्रकाशित भएको छ । अद्भूत क्षमताका धनी हुनुहुन्छ डा.उपाध्याय ।

उहाँका केही मनोकांक्षाहरू छन् । हुन त सबै मानिसका यस्ता आकांक्षाहरू हुन्छन् तर कार्यक्षमताको अभाव तथा लगनशीलताको कमी आदिका कारण मनका रहर मनैमा कुण्ठित भइरहेका हुन्छन् । डा. उपाध्यायमा भने आफ्ना चाहनालाई सार्थक बनाएरै छोड्ने सामथ्र्य छ । उहाँ गीतकार, संगीतकार र गायक पनि हुनुहुन्छ । साहित्य र कलाका पारखी उपाध्यायका विभिन्न गीति एल्बम सार्वजनिक भएका छन् ।

यस्ता एल्बमहरूमा प्रणय, सहेली, नशालु नजर, जखम, प्रतिनाद, अन्तराप, जोहो, माउण्टेल मेलोडी कृति, परिष्कृत, पृथक, सेभेन्थ कर्डस्, स्वर्ग घर, अनुभूतिको मझेरी, अञ्जान तिर्खा र प्रताडना प्रमुख छन् । नेपाली साहित्यमा एक दुईवटा पुस्तक प्रकाशित गरेर वा दुई–चारवटा गीत लेखेर निकै ठूलो स्वरमा हल्ला गर्नेहरूको जमात ठूलो छ तर डाक्टर साहेबमा यस प्रकारको चरित्र पाइँदैन । आफ्नो काम अनवरत रूपमा गरिरहने तर मैले यति गरेँ र उति गरेँ भन्ने खालको अहम् उहाँमा भेटिँदैन । उहाँको कामअनुसारको मात्र चर्चा हुने गरेको छ ।

पहिलो पटकको भेटमै मैले उहाँको सरल व्यक्तित्वको परिचय पाएँ । व्यवसायीको पहिचानसमेत बनाउनुभएका उपाध्यायले जगदम्बा इन्टरनेसनल प्रालिको संस्थापक प्रबन्ध निर्देशक, पशुपति क्षेत्र विकास कोषको पूर्वसञ्चालक, व्यापार प्रबद्र्धन केन्द्रको पूर्वसञ्चालक, पूरा समाचार डट कमको प्रधानसम्पादक भएर कुशल व्यवस्थापकको जिम्मेवारी समालिसक्नुभएको छ । लाइफटाइम मेम्बर मानवअधिकार तथा शान्तिसमाज नेपाल, लाइफ टाइम मेम्बर गीतकार संघ नेपाल, लाइफ टाइम मेम्बर व्यवस्थापन संघ नेपाललगायत स्थानमा रहेर उहाँले आफ्नो कुशलतको परिचय दिइसक्नु भएको छ ।

उहाँ आपूmलाई स्वतन्त्र लेखक भन्न रुचाउनु हुन्छ तर उहाँको परिचय यत्तिमा मात्रै सीमित छैन । उहाँले गीतकै माध्यमबाट अन्तर्राष्ट्रिय पहिचान बनाउनु भएको छ । त्यस्तो पहिचान सामान्यभन्दा विशिष्ट रूपमा फैलिएर उहाँ विश्वकीर्तिमानी बन्नुभएको छ । उहाँ चारजना दाजुभाइ र ती दिदीबहिनीमध्ये सबैभन्दा कान्छा हुनुहुन्छ । उहाँको विवाह ओखलढुंगा लामिसोतीका मुकुन्दप्रसाद दाहाल र सुचित्रा दाहालकी छोरी सुनिता दाहालसँग भयो । उपाध्याय दम्पत्तिका छोरा अंंकित खनाल र छोरी ईशा खनाल हुनुहुन्छ । अंकितको स्लेशासँग विवाह भइसकेको छ भने छोरी ईशा अविवाहित हुनुहुन्छ ।

ब्याङ्लोर विश्वविद्यायलबाट एमबिए गरेका अंकित आफ्नै व्यवसाय गर्नुुहुन्छ । छोरी इशा इन्जिनियरिङ एआइटी थाइल्याण्डमा अध्ययन गरिरहनु भएको छ । उपाध्याय आपूmलाई मध्यम वर्गीय परिवारको व्यक्ति, भन्न चाहनुहुन्छ । त्यसबेला उहाँका पिताजीले ८० हजारमा एउटा घर बनाउनु भएको थियो रे । त्यो घर हेर्न मानिसहरू टाढा टाढादेखि आउथे भन्नुहुन्छ उहाँ । यस अर्थमा उहाँलाई उच्च मध्यम वर्गमा राखेर हेर्दा अन्यथा नहोला जस्तो लाग्छ ।

सानैदेखि उहाँ व्यवसायमा रुचि राख्नु हुन्थ्यो । कहिले केको कहिले केको व्यापार गर्नुभयो रे उहाँ । साबुन र तयारी कपडाहरूको व्यापार गरेर पढाइ खर्च जोहो गरेको बताउनुहुन्छ उहाँ । नारायणीको पुल बन्नुभन्दा पहिले डुंगामा बसेर पारिसम्म गएर व्यापार गर्नुभएछ उहाँले ।

उहाँ समाजशास्त्रको विद्यार्थी । सामाजिक विषय र सामाजिक समस्या उहाँका छनोटमा पर्ने नै भए । उहाँले बिएन एण्ड एमयु युनिभर्सिटीबाट ‘वेश्यावृत्ति समस्या एवं समाधान’ विषयमा विद्यावारिधि गर्नुभयो । उहाँमा अन्य विविध प्रतिभा त छँदैछन् यसका साथसाथै उहाँ यस विषयको स्रोत व्यक्ति वा विज्ञ मानिनुहुन्छ । उहाँमा ज्ञान आर्जनको तृष्णा अझै जागृत भइरहेकै छ । उहाँले स्वामी विवेकानन्द विश्वविद्यालयबाट ‘रिलेसन एन्ड फ्यामिली क्ल्यास (सम्बन्ध र पारिवारिक कलह) विषयमा पनि विद्यावारिधि सकिसक्नु भएको छ तर कोरोना महामारीका कारण भएको लकडाउनले गर्दा उहाँको भाइवा हुन बाँकी छ ।

उहाँ व्यवसायमै रमाउनुभयो । अनेक थरी व्यवसाय गर्नुभयो । रियलस्टेट व्यवसाय पनि गर्नुभयो । टेन्डर लिएर विभिन्न काम गर्नुभयो तर एकातिर आफ्नो उमेर र कोरोनाको बढ्दो प्रभाव अनि अर्कातिर लेखन कीर्तिमानी कार्य आदिका कारण हाल अरूकै झैं उहाँको व्यवसायमा पनि मन्दी आएको छ ।

प्रतिभाका धनी डा. उपाध्यायको साहित्यमा प्रेरक व्यक्ति त खास कोही पनि छैन तर सानैदेखि उहाँमा साहित्य तथा लेखनमा रुचि थियो । आपूmले तयार पारेका रचनाहरू अरूलाई सुनाउनुहुन्थ्यो र सबैले राम्रो भनिदिन्थे । त्यसैले लेखकीय ऊर्जा भर्ने काम ग¥यो उपाध्यायमा । उहाँले त्यसपछि अनबरत रूपमा सिर्जनात्मक काम गरिरहनुभयो । त्यसैको परिणाम हो उहाँको आजको सफलता । पहिलोपटक सानो सायरी रचना गरेर साहित्यमा पाइला राख्नुभएका कलापारखी उपाध्याय अहिलेसम्म २४ एल्बमका सयौैं गीतका सर्जक भइसक्नुभएको छ । डा.डीआर उपाध्यायले नेपाली कला साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन विभिन्न प्रकारका प्रयास गर्नुभएको छ । उहाँबाट रचित दर्जनौं गीतहरूले विश्व कीर्तिमान् राख्न सफल भएका छन्् । उपाध्यायका सिर्जना कालजयी छन् । उहाँले प्रयोग गर्ने बिम्ब, प्रतीक, मिथकहरू अनेकौं छन् ।

उहाँले गीतहरू लेख्नुभएको छ । गीतमै अनेकौं कीर्तिमानहरू राख्नुभएको छ तर यसबाहेक पनि उहाँले आख्यानहरूको सिर्जनासमेत गर्नु भएको छ । किन यी दुई विधामा मात्रै रमाउनुभयो डा.उपाध्याय ? उहाँ ‘यो मेरो चाहना भएकाले’ भनेर छोटो जवाफ दिनुहुन्छ । त्यसो त उहाँले यसबाहेक गद्य कविता र मुक्तकहरू पनि लेख्ने गर्नुभएको रहेछ । उहाँ किन लेख्नुहुन्छ त ? अरूलाई केही दिन वा आपूm केही लिन ? लेखन आफ्नो सोख भएका कारणले नै लेख्नेगरेको हुँ भन्नहुन्छ उहाँ ।

अर्कातिर भौतिक सम्पत्ति नासवान हुने भएका कारण त्यसको जति संकलन र संरक्षण गरे पनि त्यो निरर्थक हो भन्ने उहाँको मान्यता पाइयो उहाँको । त्यसैले बौद्धिक सम्पत्ति नै सबैभन्दा उत्तम सम्पत्ति भएकाले आपूm यसतर्फ आकर्षित भएको बताउनुहुन्छ उहाँ । ‘तपाईं कुनै राजनीतिक वादतर्फ आकर्षित हुनुहुन्छ ?’ निकै नै सावधानिपूर्वक सोधिनुपर्ने प्रश्न थियो यो तर मैले सोधेँ आँटैले । उहाँले पनि अन्यथा लिनु भएन । ‘म प्रजातान्त्रिक विचारधाराबाट प्रभावित छु । कसैको पक्ष विपक्षमा लेख्दिन राष्ट्रवादका पक्षमा लेख्छु’ उहाँले स्पष्ट जवाफ दिनुभयो ।

उहाँलाई लेख्न आख्यान विधाभन्दा गीत सहज लाग्छ तर फुरेको बेला हुनुपर्छ । गीत छिटोछरितो लेखन हो तर त्यसको प्रभाव चाहिँ चोटिलो हुन्छ । सहज भाव संप्रेषण गर्न गीतबाटै सहज हुन्छ तर उपन्यास लेखन पनि उहाँको रुचिमै पर्छ । विश्वकीर्तिमानको सोच कसरी आयो नि उहाँमा ? उहाँले सातवटा एल्बममा ३६ वटा गीत एकै पटक रेकर्ड गर्नु भएछ । कुनै कीर्तिमानका लागि थिएन यो तर गिनिजबुक सञ्चालक संस्थाबाटै उहाँलाई सम्पर्क गरिएछ र कीर्तिमानका लागि जानकारी गराइएछ ।

उहाँका अनेकौं ५९ वटा कीर्तिमान कायम भइसकेका छन् । यसबाट नामबाहेकको प्राप्ति चाहिँ के हुन्छ त ? उहाँ आत्मासन्तुष्टि प्राप्त हुन्छ र शान्ति मिल्छ भन्नुहुन्छ । उहाँ गायन र लेखनमात्र होइन अभिनय पनि गर्नुहुन्छ । अथवा, उहाँ रचनाकार, संगीतकार, गायकका साथै अभिनेतासमेत हुनुहुन्छ । उहाँ सन्देशमूलक सामाजिक भिडियोहरूमा अभिनय गर्नुहुन्छ त्यो पनि आफ्नै गीतहरूमा मात्र । यी सबैका लागि समय व्यवस्थापन चुनौतीको कुरा हो । उहाँले जसरी भए पनि यसको सन्तुलन मिलाइरहनु भएको छ ।

आप्mना पिताको निधन छिटै भएका कारण उहाँको सेवा गर्न नपाएकोमा भने डा.उपाध्याय दुःखी हुनुहुन्छ । उहाँ अध्यत्मवादी स्वभावको हुनुहुन्छ । पितामातालाई विष्णु र महालक्ष्मीको स्वरूप हुन् भन्ने धारणा राख्नुहुन्छ । उहाँकी आमा ९० वर्षको वयसन्धि पार गरिरहनु भएको छ र आमासँगै रहनुभएको छ डा.उपाध्याय । उहाँ प्रत्येक बिहान आफ्नी आमालाई ढोगेरमात्र अन्य कामको थालनी गर्नुहुन्छ । आफ्नो उन्नति आमाकै आशिर्वादले भएको हो भन्ने सोचाइ छ उहाँको ।

लेखनलाई नै आफ्नो जीवनको अभिन्न पक्ष ठान्ने डा.उपाध्यायका समसामयिक रचनाहरू राष्ट्रियस्तरका दैनिक पत्रपत्रिकामा नियमित रूपमा प्रकाशित भइरहेका छन् । सबैभन्दा सानो गीतको पुस्तक २×२ इन्चको गीतिसंग्रह ‘अनुभूतिको मझेरी’, नोट साइजको गीति पुस्तक ‘चोट’ र व्यञ्जन वर्णका ३४ अक्षरबाट तयार गरिएको गीति कविता प्रेयसी पनि पाठकमाझ आइसकेका छन् ।

उहाँ नेपालका तराईका सबैजसो र पहाडका आधाआधी जिल्ला घुम्नुभएको छ । भारतका धेरै ठाउँ उहाँ घुमिसक्नु भएको छ । नेपालीका साथै भोजपुरी, हिन्दी अंग्रेजीलगायतका भाषा उहाँ राम्ररी बोल्न सक्नुहुन्छ । अब उहाँ जीवनमा आफ्ना खास चाहना बाँकी नरहेको बताउनुहुन्छ किनकि उहाँका सबैजसो चाहना पूरा भइसकेका छन् । अब उहाँको एउटा चाहना बाँकी छ पद्मश्री पुरस्कार र १०० विश्व कीर्तिमान पुयाउने लक्ष्य प्राप्तिको । भारतको सबैभन्दा प्रतिष्ठित पुरस्कार हो पद्मश्री । यसको प्राप्तिको सम्भाव्यहरूका सूचीमा उहाँ अग्रपंक्तिमा हुनुहुन्छ । उहाँले नेपालका धेरैजसो पुरस्कारहरू पाइसक्नु भएको छ । मान, सम्मान र अभिनन्दनको कुनै लेखाजोखा नै छैन ।

उहाँको १२औंैं औपन्यासिक कृति ‘मेरी प्रिया’ छपाइका क्रममा प्रेसमा छ भने १३औं कृति ‘भिलेन कोरोना’ पनि आउनै लागेको छ । उहाँका नयाँ नयाँ अनेक प्रकारका कीर्तिमान एकपछि अर्को स्थापित हुने क्रम जारी छ । यही क्रममा उहाँ निकट भविष्यमै नेपालको ५ हजार उचाइको तिलिचो ताल समिपमा उभिएर सातवटा कविता वाचन गरी त्यसको भिडियो रेकर्ड बनाएर कीर्तिमान कायम गर्ने योजनाका हुनुहुन्छ । उहाँले आफ्नो आख्यान साहित्य लेखन तथा गीत रचना आदिको कार्यबाट गिनिज बुक अर्फ वल्र्ड रेकर्ड, बुक अफ अमेरिका, अष्ट्रेलिया, लण्डन युकेलगायत विभिन्न देशबाट वल्र्ड रेकडको प्रमाणपत्र प्राप्त गरिसक्नुभएको छ । एभरेष्ट वल्र्ड रेकर्ड, स्टार वल्र्ड रेकर्ड, एक्सक्लुसिभ वल्र्ड रेकड, जिनस वल्र्ड रेकडजस्ता रेकर्डको प्रमाणपत्रसमेत प्राप्त गरिसक्नुभएको छ डा.उपाध्यायले ।

त्यस्तै उहाँले सात गीति एल्बमका ३६ वटा गीत एकैपटक सार्वजनिक गर्नु भएको थियो । उपाध्यायले नारी एवं पुरुषले दुवैप्रति कस्तो माया, सम्मान, ख्याल, सुरक्षा र व्यवहार गर्नुपर्छ भन्ने एक एक लाइनको सामाजिक सन्देश प्रवाह गर्ने २८८ लाइनको गीत, एउटा शब्द केटा र एउटा शब्द केटीले गाएको शब्द शब्दको गीत, हुलाक टिकटमा प्रकाशित विशष्ट नेपाली व्यक्तिहरूको नाम कामबारे बनाइएको गीत, सांकेतिक भाषाको गीत, अक्षर अक्षरको गीत एउटा पुरुष र अर्को नारी स्वरमा, तीनवटा सप्तकमा बनेको गीत, सगरमाथा हिमाल आरोहण गर्नेहरूको अत्यधिक नामबाट बनाइएको गीत, अहिलेसम्म नेपालमा प्रकाशित भएका उपन्यासको नामबाट बनाइएको गीत, संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा हिमाल शब्द धेरै पटक प्रयोग गरेर बनाइएको गीत, एउटा गीतमा धेरै थरीका रूख बोटबिरुवाको नाम प्रयोग गरिएको गीत, एउटा गीतमा धेरै पटक मुटु शब्द प्रयोग गरेर बनाइएको गीत, संसारमा सबैभन्दा सानो आकारको गीति पुस्तक (२ बाई २ इन्च), एउटै गीतको स्थायी र अन्तरा धेरै व्यक्तिले एकै पटक पढेको जस्ता विषयबाट उपाध्याय वल्र्ड रेकर्ड राख्न सफल हुनुभएको हो ।

उहाँका केही स्मृति भावुक बनाउने खालका छन् । २०३७ सालदेखि पढाइका क्रममा उहाँ राजधानी काठमाडौं आउनुभएको हो । हात्तीछाप चप्पल लगाएर हिँडेको सम्झनुहुन्छ । त्यसबेला वीरगञ्जबाट काठमाडौं आउजाउको बाटो भनेको बाइरोडको बाटो नै हो । मालसामान ओसारपसार गर्ने ट्रकहरूमा चढेर आउजाउ गर्नुहुन्थ्यो उहाँ । अगाडि सिटमा बसेको ६ रुपैयाँ भाडा लाग्थ्यो । पछाडि बसेको ४ रुपैयाँ लिन्थे ।

दुई रुपैयाँ कम लागोस् भनेर बोरा ओछ्याएर ट्रकको पछाडि बसेर आउजाउ गरेको विगत छ रे उहाँको । अर्थात् आम नागरिकको भन्दा पृथक भोगाइ उहाँको पनि छैन । आजको उहाँको वैभवशाली जीवन मिहिनेत र लेखान्तका कारण प्राप्त भएको उहाँ ठान्नुहुन्छ । त्यसैले उहाँले नेपाली समाजलाई राम्ररी चिन्नुभएको छ उहाँ जीवनमा म कुनै घमण्ड गर्दिन भन्नुहुन्छ । नयाँ पिँढीलाई मिहिनेत गर्नुपर्छ भन्ने प्रेरणाका लागि उहाँका यस्ता अनुभव उपयोगी हुनसक्छन् ।

पछिल्लो समय थपिएका १९ रेकर्डमा उपाध्यायले १५० भन्दा बढी देशको पर्यटनस्थलको नाममा गीत तयार गरेर, सबैभन्दा छोटो १८ अक्षरको गीतसंगीत तयार गरेर, एकै दिनमा चारवटा गीत लेखी रेकर्ड गरेर रिलिज गरेर, १७५ देशका मुद्राहरूको नाममा गीत–संगीत तयार गरेर, ‘क’ देखि ‘ज्ञ’ सम्मका प्रत्येक वर्णको गीत लेखी कीर्तिमान रच्नुभएकोे छ । यस्तै, ५५ वटा फरक–फरक फूलको नाममा गीत लेखी रेकर्ड गराएर, सबैभन्दा धेरै पटक ‘आमा’ तथा धेरै पटक ‘बुबा’ शब्द प्रयोग गरी गीत रेकर्ड गराएर, विश्वका १६४ प्रजातिका चराको नाम समेटेर गीत रेकर्ड गराउनुभएको छ ।

उहाँले आफ्ना गीतहरू चिया पिउने सबैभन्दा बढी कपमा छापेर, सबैभन्दा बढी पोष्टकार्डमा छापेर, सकारात्मक सोचमा फाइदासम्बन्धी गीत तयार गरेर, ६० वर्ष नाघेका ११ जना गायक गायिकाको स्वरमा एकैपटक गीत रेकर्ड गराउनुभएको छ । कीर्तिमानी गीतकार उपाध्यायले नेपाली गीत संगीतलाई विश्व बजारमा पु¥याउँदै गिनिज बुक, अमेरिकन वल्र्ड बुकसहित सबै वल्र्ड रेकर्डमा आफ्नोमात्र होइन नेपालकै गौरव बढाउने काम गर्नुभएको छ । ‘यस्ता रेकर्ड आफ्नो लागि मात्र नभई नेपाली गीतसंगीतलाई विश्वमा चिनाउनका लागि पनि गरेको हुँ’ भन्नुहुन्छ डा. उपाध्याय ।

‘हिरो २०१९’ बाटसमेत सम्मानित गीतकार डा.डीआर उपाध्यायलाई गीतकार संघ नेपालको नवौं वार्षिकोत्सव कार्यक्रममा ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृत गरिएको थियो । नेपाल र नेपालबाहिर हुने विभिन्न गीतसंगीतका अवार्डमा उहाँका प्रायःजसो गीत पुरष्कृत हुन सफल भएका छन् । ‘म समाजका लागि गीत उपन्यास लेख्छु, आत्मसन्तुष्टिका लागि गीत लेख्छु’ भन्ने उपाध्याय श्रोता र दर्शकले रुचाइदिँदा थप हौसला र अपार आनन्द हुने बताउनुहुन्छ । डीआर म्युजिक एण्ड क्रिएसनमार्फत् उहाँले आफ्ना गीतहरू श्रोता÷दर्शकमाझ ल्याइरहनु भएको छ । उहाँका रचनाहरू संख्यात्मक तथा गुणात्मक दुवै दृष्टिले उत्तिकै अब्बल पाइन्छन् ।

डा.उपाध्यायका गीतमा विषयगत विविधता पाइन्छ । सबै वर्ग, पेशा र समुदायका विचार र विषयलाई उहाँले समेट्ने कोसिस गर्नुभएको छ । उहाँका २४ एल्बममा रहेका गीतमा माया प्रेम, रोमान्स, विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत छन् । उहाँका चाड–पर्वका गीतदेखि लिएर छोरी बिदाइ गर्दाका गीत, पर्यटनलाई लक्षित गीत, समाजमा रहेका नागरिकलाई स्वस्थ तथा निरोगी बनाउन योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत छन् । त्यस्तै, मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्र्सका गीतहरू रहेका छन् ।

नयाँ पिंढीका लागि केही सुझाब दिन मेले अनुरोध गरेँ उहाँलाई । उहाँले साहित्य, संगीत र कलामै जोड दिनुभयो र भन्नुभयो, ‘साहित्य, संगीत र कलाले देश चिनाउँछ । सबैले देश बनाउने बारेमा सोच्नुपर्छ । सबैले यही सोचुन् । देश चिनाउने हामीले नै हो ।’ वास्तवमा देशका बारेमा यसरी हामी सबैले सोच्नै पर्छ । यसरी सोचियो भनेमात्र देश बन्ने हो । हामी सबैले उहाँकै बाटो अवलम्बन गर्ने हो भने यो सम्भव पनि नहुने होइन । उहाँलाई सफलताको लक्ष चुम्न हार्दिक शुभकामना । साभार हिमालय टाइम्स बाट

प्रतिक्रिया