Pura Samachar

शुक्रबारदेखि ५६ जिल्लामा काँग्रेसको वडा अधिवेशन सुरु हुँदै,

प्रकाशित: September 3, 2021

शुक्रबारदेखि ५६ जिल्लामा काँग्रेसको वडा अधिवेशन सुरु हुँदै,

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ ।

हालसम्म क्रियाशील सदस्यता नामावली सार्वजनिक भएका ५६ जिल्लाका वडामा शुक्रबारदेखि वडा अधिवेशन सुरु हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको बताइएको छ । ती सबै जिल्लामा निर्वाचनका लागि आवश्यक सामग्री समेत पठाइ सकिएको छ । क्रियाशील सदस्यता सूचि भएका सबै जिल्लाको वडा अधिवेशन सम्भव भएसम्म शुक्रबार नै सक्ने कांग्रेसको योजना छ ।

करिब नौ लाखको संख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ÷नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने कांग्रेस विधानमा उल्लेख छ । आगामी मंसिर ९ गते देखि १३ गते सम्मका लागि कांग्रेसले १४ औं महाधिवेशनको मिति तोकेको छ ।

यसैबीच कोरोना महामारीको जोखिमका बीच नेपाली कांग्रेसको १४ औँ महाधिवेशन गर्न लागिएको भन्दै रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । कांग्रेसबाट वाग्मती प्रदेशका प्रदेशसभा सांसद नरोत्तम वैद्यले अधिवक्ता भूपेन्द्रप्रसाद पोखरेल मार्फत विहीबार रिट दायर गर्नु भएको हो ।

कोरोनाका कारण सरकारले निषेधाज्ञा जारी राखेको अवस्थामा हजारौँको उपस्थितिमा हुने महाधिवेशन प्रक्रिया रोक्न रिटमा माग गरिएको छ । महाधिवेशनको प्रक्रिया जनस्वास्थ्यका दृष्टिले प्रतिकुल रहेको रिटमा दाबी गरिएको छ ।

प्रतिक्रिया