Pura Samachar

वीपी प्रतिष्ठानका स्वास्थ्यकर्मी आन्दोलनमा

प्रकाशित: September 5, 2021

वीपी प्रतिष्ठानका स्वास्थ्यकर्मी आन्दोलनमा

सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । सरकारले सहमति पालनामा चासो नदिएको बन्दै चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले आजबाट प्रतिष्ठानको आकस्मिक र कोभिडबाहेकका ओपीडी सेवा, नियमित शल्यक्रिया सेवा तथा अन्य उपचार सेवा नदिने भएका छन् ।

यसअघि सात दिनभित्र सहमति कार्यान्वयन नगरे स्वास्थ्य उपचार सेवामा सहभागी नहुने अल्टिमेटम दिएका थिए।अल्टिमेटम दिएको पनि १० दिन पूरा भइसक्दा पनि सरकारले चासो नदिएको उनीहरुको गुनासो छ ।

सूचना नपाएर आज अस्पताल आउने बिरामीलाई उनीहरुले आन्दोलन स्थलबाटै सेवा दिने बताएका छन् ।

साउन १९ गते आन्दोलनकारी र सरकारबीच ६ बुँदे सहमति भएको थियो। विवादमा परेका सबै पदाधिकारी हटाउने प्रक्रिया सुरु गर्ने, प्रतिष्ठानको आर्थिक अनियमितता छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने, अख्तियारमा रहेका मुद्दाहरुको छिटो किनारा लगाउने, पदाधिकारी नियुक्तिका लागि यसअघि बनेका विभिन्न समिति र आयोगले निर्धारण गरेका मापदण्ड लागू गरेर नयाँ मापदण्ड तय गर्ने लगायतका सहमति भएको थियो।

सहमति भएको ३३ दिन पुगिसक्दा पनि यस विषयमा सरकारले चासो नदिएपछि उनीहरु पुन आन्दोलनमा उत्रिएका छन् । प्रतिष्ठानको आर्थिक तथा शैक्षिक सुधारका लागि संयुक्त संघर्ष समिति ८३ दिनदेखि निरन्तर आन्दोलनमा छ । आन्दोलनको ५० औँ दिनमा सरकारसँग सहमति भएर आन्दोलन रोकिएको थियो ।

प्रतिक्रिया