Pura Samachar

नेदरल्यान्डले सानदार जित/फ्रान्स घरेलु टोली युक्रेनसँग १-१ गोलको बराबरीमा

प्रकाशित: September 5, 2021

नेदरल्यान्डले सानदार जित/फ्रान्स घरेलु टोली युक्रेनसँग १-१ गोलको बराबरीमा

काठमाडौं, २० भदौ – बार्सिलोनाका स्ट्राइकर मेम्फिस डिपाएले दुई गोल गर्दा विश्वकप छनोट अन्तर्गत युरोपेली छनोटमा नेदरल्यान्डले सानदार जित हासिल गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको समूह ‘जि’ को खेलमा नेदरल्यान्डले मोन्टेनेग्रोमाथि ४-० गोल अन्तरको सहज जित निकालेको हो ।

बार्सिलोनाका स्ट्राइकर डिपाएले पेनाल्टीमा गोल गर्दै ३७औँ मिनेटमा नेदरल्याण्डलाई अग्रता दिलाए । ६२औँ मिनेटमा दोस्रो गोल गर्दै डिपाएले नेदरल्यान्डको अग्रता दोब्बर पारे । ७०औँ मिनेटमा जर्जिनियो विज्नाल्डमले नेदरल्यान्डका लागि तेस्रो गोल गरे भने ७६औँ मिनेटपछि कोडी गाक्पोले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

मुख्य प्रशिक्षकका रुपमा लुइस भानको यो तेस्रो कार्यकाल हो । उनको नेतृत्वमा टोली बुधबार नर्वेसँग १-१ को बराबरीमा रोकिएको थियो । जितसँगै नेदरल्यान्ड समूह ‘जि’को दोस्रो स्थानमा छ । पाँच खेलबाट नेदरल्याण्डको १० अंक छ । समान पाँच खेलबाट टर्की ११ अंकसहित शीर्ष स्थानमा छ ।

अंकमा सीमित मोन्टेनेग्रो चौथो स्थानमा छ । चार अंक बटुलेको लाट्भिया पाँचौँ स्थानमा रहँदा अंकको खाता खोल्न नसकेको जिब्रल्टार पुछारमा छ । शीर्ष टोली टर्कीले गए रातिकै खेलमा जिब्रल्टारमाथि ३-० को विजय हासिल गरेको थियो भने नर्वेले अर्को खेलमा लाट्भियालाई २-० ले हराएको थियो ।

काठमाडौं, २० भदौ – विश्व विजेता फ्रान्स विश्वकप छनोट अन्तर्गत युरोपेली छनोट खेलमा बराबरीमा रोकिएको छ । शनिबार राति भएको समूह ‘डि’ को खेलमा फ्रान्स घरेलु टोली युक्रेनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

बराबरीसँगै सन् २०१८ को विश्वकप विजेता फ्रान्सले सबै खाले प्रतियोगितामा लगातार ५औँ बराबर नतिजा निकालेको छ । घरेलु टोली युक्रेनका मिकोला सापरेन्कोले ४४औँ मिनेटमा अग्रता दिलाएका थिए । मार्सियलले ५०औँ मिनेटमा गोल गर्दै फ्रान्सको हार संकट टारे ।

फ्रान्स आफ्ना अट्याकर केलियन एम्बाप्पेबिना मैदान प्रवेश गरेको थियो । एम्बाप्पे चोटका कारण टोली बाहिर छन् ।

बराबरीका बावजुद फ्रान्स समूह ‘डि’को शीर्ष स्थानमा छ । पाँच खेलबाट नाै अंक जोडेको फ्रान्स शीर्ष स्थानमा रहेकाे हाे । समान ५-५ अंक रहे पनि फिनल्याण्ड र युक्रेन दोस्राे र तेस्रो स्थानमा छन् ।

समान दुई अंकका साथ बोस्निया एन्ड हर्जगोभिना र काजकिस्तान चौथो तथा पाँचौ स्थानमा छन् । समूह ‘डि’ को अन्य खेलमा फिनल्यान्डले काजकिस्तानमाथि १-० को जित हासिल गरेकाे छ ।

Published 

प्रतिक्रिया