Pura Samachar

राष्ट्रिय जनगणना २०७८ को नयाँ कार्यतालिका सार्वजनिक

प्रकाशित: September 8, 2021

राष्ट्रिय जनगणना २०७८ को नयाँ कार्यतालिका सार्वजनिक

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले कोभिड–१९ महामारीका कारण रोकिएको राष्ट्रिय जनगणना २०७८ को नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय जनगणना आगामी कात्तिकमा पुनः सञ्चालन गर्न स्वीकृति दिएपछि विभागले नयाँ कार्यतालिका बुधवार सार्वजनिक गरेको हो ।

कोरोना महामारीका कारण स्थगित जनगणना पुनः सञ्चालन हुने भएको हो । सार्वजनिक नयाँ कार्यतालिका अनुसार कार्तिक २५ देखि मंसिर ९ सम्म जनगणना कार्य सञ्चालन हुनेछ ।

राष्ट्रिय जनगणना सम्पन्न गर्न विभागले ७ वटा प्रदेश जनगणना कार्यालय तथा ८० वटा जिल्ला जनगणना कार्यालय सञ्चालनमा ल्याएको छ। त्यसबाहेक ३४९ वटा स्थानीय जनगणना कार्यालय समेत स्थापना गरी कार्यअघि बढाइएको विभागका महानिर्देशक नेबललाल श्रेष्ठले बताउनुभयो ।

अनलाइन भर्ना प्रक्रियाबाट विभागले सुपरिवेक्षक तथा गणकहरूको ‘सर्टलिस्ट’ गरिसकेको छ भने जिल्लाबाट ८ हजार ५ सय जना सुपरिवेक्षकको भर्ना गरी ५ दिनको तालिमा समेत दिइसकेको श्रेष्ठले बताउनुभयो ।

सुपरिवेक्षकहरुलाई कोभिड–१९ विरुद्धको खोप अनिवार्य गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा खोप लगाउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

बुधवार सार्वजनिक जनगणना कार्यतालिका यस प्रकार रहेका छन् : 

सुपरिवेक्षक नियुक्ति : भाद्र २० देखि २६
सुपरिवेक्षक तालिम : भाद्र २७ देखि २८
घर तथा घरपरिवारको सुचिकरण : भाद्र ३० देखि असोज १८
गणकको नियुक्ति :कार्तिक ९ देखि ११
गणक तालिम : कार्तिक १३ देखि १६
मूल गणना कार्य : कार्तिक २५ देखि मंसिर ९

यसपटकको जनगणनामा नेपाल सरकारले नक्सामा समावेश गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेकमा गणना हुन्छ कि हुँदैन भन्ने सर्वत्र चासो छ । तर विभागले भने ती क्षेत्रमा जनगणना नहुने प्रष्ट पारेको छ । बुधवार सार्वजनिक कार्यतालिकामा समेत ती क्षेत्रमा गणना हुने कुरा उल्लेख छैन ।

विभागका महानिर्देशक श्रेष्ठले सो भूभागमा जनगणना गर्नु संवेदनशील रहेकाले विभाग एक्लैले गणना गर्न नसक्ने बताउनुभयो । तर स्थानीय, प्रदेश र केन्द्र सरकारसँग अहिले पनि निरन्तर छलफलमै रहेको उहाँले बताउनुभयो ।

प्रत्येक १० वर्षमा एक पटक हुने राष्ट्रिय जनगणना नेपालमा पहिलो पटक १९६८ सालमा भएको थियो। त्यसयता हरेक १०–१० वर्षको अन्तरालमा नेपालमा जनगणना हुँदै आएको छ। यो जनगणनाको १२औँ शृंखला हो।

प्रतिक्रिया