
काठमाडौं । पपुवा न्युगिनी (पिएनजी) विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालले १५१ रनको फराकिलो जित दर्ता गराएको छ ।
यसअघि पहिलो खेल २ विकेटले जितेको नेपालले सिरिज २.० ले आफ्नो पक्षमा परेको छ।
ओमानमा भएको खेलमा नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याएको पिएनजी १९.१ ओभरमा ८२ रनमै अलआउट भयो।
पिएनजीको इनिङ्ग्स ध्वस्त पार्ने क्रममा नेपालका स्टार लेगस्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे। उनले एकदिवसीय खेलमा करिअरकै उत्कृष्ट बलिङ गदै ६ विकेट लिए । उनले ५.१ ओभरमा केवल ११ रन मात्र खर्चिए।
पिएनजीविरुद्ध नेपालका सन्दीपबाहेक सोमपाल कामी, विक्रम शोव र सुसन भारीले एक एक विकेट लिएन सफल भए।
पिएनजीका लागि ओपनर टोनी उराले सबैभन्दा बढी १९ रन जोडे। अन्य ब्याट्सम्यान सस्तैमा आउट भएका थिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३ बल खेल्न बाँकी छदा २३३ रनमा अलआउट भयो।
नेपालका लागि रोहितकुमार पौडेल र करण केसीले उत्कृष्ट ब्याटिङ गरे। रोहितले ८६ रन जोडे। उनले १२३ बलमा २ चौका र ३ छक्का प्रहार गरे।
करणले २६ बलमा ४२ रनको योगदान गरे। सातौं विकेटको रूपमा ४९औं ओभरमा आउट हुनुअघि उनले २६ बलमा २ चौका र ४ छक्का प्रहार गरे।
करण आउट भए लगत्तैको बलमा रोहित पनि आउट हुन पुगेका थिए। दुवै जनालाई चाड सोपरले आउट गरे। उनले तीन विकेट लिए।
त्यसअघि नेपालले खराब ओपनिङ गरेको थियो। ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल ३÷३ रनमै आउट भएपछि नेपालको इनिङ्ग्स सुरुमै संकटमा परेको थियो।
त्यसपछि रोहित र कप्तान ज्ञानेन्द्र मल्लको जोडीले नेपालको इनिङ उकासे। रोहितसँग तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेका ज्ञानेन्द्रले ४५ रन जोडे। उनले ७० बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
त्यसपछि विनोद भण्डारी १७ रनमा रनआउट भए । कुशल मल्ल १ रनमै आउट हुँदा सोमपाल कामीले ११ रन जोडे। विक्रम शोव १ रनमा आउट हुँदा सुसन भारी शून्यमा आउट भए।
यसअघि नेपालले पिएनजीविरुद्धको पहिलो एकदिवसीय खेलमा २ विकेटको जित निकालेको थियो।
नेपालले आइसिसी विश्वकप लिग(२ को त्रिकोणात्मक सिरिजको तयारीका क्रममा पिएनजीसँग एकदिवसीय सिरिज खेलेको हो।
नेपालले अमेरिका र घरेलु टिम ओमानविरुद्धको त्रिकोणात्मक सिरिज खेल्दैछ। सिरिज भदौ २८ देखि सुरू भएर असोज ४ मा सकिनेछ।
सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई(दुई खेल खेल्नेछ।
प्रतिक्रिया