
काठमाडौं । थारू समुदायले आज ‘अट्वारी पर्व ’ मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लामा बसोबास गर्ने ती समुदायले माघीपछिको ठूलो पर्वका रुपमा यसलाई मनाउने गर्दछन् ।
धार्मिक एवं सांस्कृतिक महत्व बोकेको यस पर्व तीजपछिको पहिलो आइतबारमा व्रत बस्ने र सोमबार सकिने गर्दछ । थारू सस्ंकृतिविद् अशोक थारूका अनुसार पर्वको पहिलो रात दर (भिन्स¥या भाट) खाने गरिन्छ । दरमा भात, माछा चोखो तरिकाले पकाइन्छ र भाले नबास्दै उठेर दर खाने प्रचलन छ । यसपछिको दोस्रो दिन प्रायः पुरुष महिला व्रत बस्छन् ।
परम्परागत रुपमा मनाइँदै आएको पर्व आइतबारका दिन मनाउने भएकाले ‘अट्वारी’ भन्ने गरिएको हो । आज दिनभरि व्रत बसेर दाजुभाइले साँझ पूजापाठ गरेर फलफूल र अनदीको रोटी खाने गर्दछन् । बर्तालुले फलफूललगायतका परिकार खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ । यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीका रूपमा उपहार दिने चलन छ ।
अट्वारी पर्वका अवसरमा दाङको तुलसीपुर उपमहानगर, घोराही उपमहानगर, गढवा गाउँपालिका लगायतका स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्।
लुम्बिनी प्रदेश सरकारले पनि दाङ, बाँके, बर्दिया जिल्लामा बिदा दिएको छ।
प्रतिक्रिया