Pura Samachar

शुक्रवारदेखि दशैंका लागि सुपथ मूल्य कहाँ कहाँ सञ्चालन हुँदैछन् ? (सूचीसहित)

प्रकाशित: September 17, 2021

शुक्रवारदेखि दशैंका लागि सुपथ मूल्य कहाँ कहाँ  सञ्चालन हुँदैछन् ? (सूचीसहित)

काठमाडौं । सरकारले चाडवाडको अवसरमा आम उपभोक्तालाई लक्षित गरी शुक्रबारदेखि सुपथ मूल्यको पसल सञ्चालन गर्दैछ ।

सरकारले आम उपभोक्ताको सहजको लागि शुक्रबारदेखि आगामी कात्तिक २४ गतेसम्म सुपथ मूल्यको पसल सञ्चालन गर्न लागेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले योवर्ष असोज १ गतेदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी दिनुभयो ।

हरेक वर्ष दशैं, तिहार र छठ पर्वका बेला सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । प्रमुख कार्यकारी अधिकृत चन्दले देशका ३९ जिल्लाका ४३ स्थानहरुमा सुपथ मूल्य पसल सञ्चालन गरिने जानकारी दिनुभयो ।

उपत्यकाभित्र नख्खु, थापाथली, रामशाहपथ, जावलाखेल, बल्खु, टेकु, जडीबुटी र सल्लाघारी लगायतका स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुनेछ ।

त्यस्तै उपत्यका बाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौंडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुँदैछ ।

यसबाहेक हरेक वर्ष साल्ट ट्रेडिङ कर्पोरेसन, नेशनल ट्रेडिङ लिमिटेड, खाद्य संस्थान र दुग्ध विकास संस्थापनले पनि विभिन्न ठाउँहरुमा सुपथ मूल्य पसल सञ्चालन गर्छन् ।

सुपथ मूल्य पसल बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म खुला हुनेछ । सुपथ मूल्य पसलमा चामल, दाल, चिउरा, पिठो र तेलमा पाँच रूपैयाँ छुट गरिएको छ । त्यस्तै भटमासको तेल, मासु र कर्णाली सिमीमा दश रुपैयाँ छुट गरिएको छ ।

प्रतिक्रिया