
काठमाडौं । आज असोज ३ अर्थात् संविधान दिवस, देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदैछ ।
२०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाउन लागिएको हो । नेपालमा आज संविधान सभाबाट संविधान जारी भएको ६ वर्ष पुरा भएको छ । संविधान दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले आज बिहान काठमाडौंमा विशेष समारोहको आयोजना गरेको छ । कार्यक्रमलाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।
सरकारले सातौँ संविधान दिवस तीन दिन हिजो आज र भोलीसम्म विभिन्न कार्यक्रम गरी भव्य रूपमा मनाउने तयारी गरेको हो । सरकारले दिवसका अवसरमा आम नागरिकलाई स्वतः स्फूर्त रुपमा दीपावली गर्न तथा विदेशस्थित नेपाली नियोग र निकायमा समेत नेपाली झण्डा फहराउन आग्रह गरेको छ ।
यसैबीच सरकारले घोषणा गरेको संविधान दिवस कार्यक्रममा सत्तारुढ दल जनता समाजवादी पार्टी जसपाले भाग नलिने भएको छ । संविधान दिवसको पूर्वसन्ध्यामा शनिबार जसपा अध्यक्ष उपेन्द्र यादवले प्रेस विज्ञप्ति जारी गर्दै संविधान दिवसमा सहभागी नहुने जानकारी दिनु भएको हो ।
संविधानमा धेरै धाराहरूमा विभेदकारी प्रावधानहरू राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवस २०७८ मा पनि भाग नलिने जसपाको भनाई छ । जसपाले संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायतत्ता, समानुपातिक समावेशिकरण लगायतका प्रावधानहरू अधुरो र अपूर्ण रहेको जनाएको छ ।
प्रतिक्रिया