Pura Samachar

मधेशवादी दलद्वारा संविधानकाे विराेध

प्रकाशित: September 19, 2021

मधेशवादी दलद्वारा संविधानकाे विराेध

काठमाडाैं । मधेश केन्द्रित जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले संविधानको विरोध गरेका छन्। सातौं संविधान दिवसको अवसरमा दुवै पार्टीले काठमाडौंमा छुट्टाटछुट्टै कार्यक्रमको आयोजना गर्दै संविधानप्रति विरोध जनाएका हुन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधानलाई परिमार्जन गर्नुपर्ने बताउनुभयो ।

संविधान संशोधनको आवश्यक्ता विषयक वृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले संविधानले महिला, जनजाती, दलित र मधेशी जनतालाई नसमेटिएको भन्दै मधेशीलाई दमन गरेर संविधान जारी गरेको बताउनुभएको हो ।

उहाँले देशको आधा भूभागले अझै पनि यो संविधानलाई स्वीकार नगरेको बताउनुभयो । अध्यक्ष यादवले यो संविधानलाई परिमार्जन गरेर कालो दिवस मनाउने र बत्ती बाल्ने सबैको लागि समेटिएको संविधान बनाइनुपर्ने बताउनुभयो । उहाँले संविधान जारी गर्ने प्रक्रिया केही लेखन्दासले बसेर संविधान जारी गरेको बताउनुभयो । उहाँले ३६५ वटा जति संशोधनको प्रस्ताव भएको तर छलफल नै नगरी पास गरेकाले संविधान त्रुटिपूर्ण रहेको बताउनुभयो ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले पनि संविधानको विरोध गरेको छ । लोसपाले आयोजना गरेको कार्यक्रममा उपस्थित वक्ताहरुले यो संविधानले नेपाली महिला, जनजाती, दलित र मधेशीहरुलाई उचित न्याय नदिएको बताएका छन् ।

कार्यक्रममा पुगेका वक्ताहरुले टाउकोमा कालोपट्टी बाँधेर संविधानको विरोध गरेका छन् भने विरोध कार्यक्रममा लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो अनुपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया