Pura Samachar

तीन महिनापछि जापानमा नियमित उडान सुरु हुँदै

प्रकाशित: September 23, 2021

तीन महिनापछि जापानमा नियमित उडान सुरु हुँदै

काठमाडौं। तीन महिनापछि नेपाल वायुसेवा निगमले शनिबारबाट काठमाडौै-जापान उडान सुरु गर्ने भएको छ। कोभिडको दोस्रो लहरसँगै बन्द भएको काठमाडौं-नारिता उडान शनिबारबाट पुन: सुरु गर्न लागेको हो


तर जापान नागरिक उड्डयन प्राधिकरणले सीमित उडान संख्या र यात्रु संख्या आवगमनको प्रावधान लागु गरेको छ। त्यही कारण यात्रुले टिकटको चाप भने बढी छ। जापानले साताको एउटा उडानको मात्र स्लट दिएको छ।

साताको एकदिन विहीबार काठमाडौं-नारिता तर्फको उडानमा एक सय दुई जना भन्दा बढी यात्रु लैजान नपाइने प्रावधान रहेको निगमले जनाएको छ।

दशैं नजिकिएसँगै यतिखेर नारिता-काठमाडौं आउने यात्रुको अकुपेन्सी दर करिब शतप्रतिशत रहेको छ।  निगमले दुई सय ७४ सिट क्षमताको एयरबस ३३० सिरिजको जहाज प्रयोग गर्दै आएको छ।

‘यात्रुको माग आएपनि हामीले जापानको इजाजत विना उडान संख्या थप्न सक्दैनौँ। उताबाट आउने यात्रुको संख्या उल्लेख्य रहेको छ।’ निगमका एक कर्मचारीले भने।

निगमका अनुसार जापानले हरेक १५ दिनमा आफ्नो सेडुल रिभ्यु गर्दै आएको छ। कोभिड दोस्रो लहरका कारण बन्द भएको काठमाडौं-नारिता दुईतर्फी उडान तीन महिनापछि खुला भएको हो। यो बीचमा जापानले एकपटकको उडानमा ५०-६० जना मात्र यात्रु आवगमनको अनुमति दिएको थियो। तर व्यवसायिक हिसाबले घाटा देखाएपछि निगमले उडान गरेको थिएन।

हाल निगमले आफूसँग भएको दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाजमार्फत भारत, दुवई, मलेसिया, जापान, हङकङ लगायत विभिन्न अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ।  कोभिडका कारण निगमको काठमाडौं-बैंकक उडान बन्दनै छ।

प्रतिक्रिया