
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता तथा कार्यकर्तालाई जनताको मन जित्न आफ्नो भूमिकालाई प्रभावकारी बनाउन अनुरोध गर्नुभएकाे छ।
आज (शनिबार)देखि सुरु भएको पालिका अधिवेशनको शुभकामना दिँदै प्रधानमन्त्रीसमेत रहनुभएका देउवाले नगर र गाउँपालिकामा कांग्रेसको भूमिकालाई प्रभावकारी बनाउन आग्रह गर्नुभएकाे हाे ।
उहाँले पार्टीप्रतिको विश्वास र प्रतिबद्धताले कांग्रेसलाई थप बलियो बनाउने बताउँदै भन्नुभमयाे ‘आजदेखि सुरु भएको नगर र गाउँपालिका अधिवेशनको प्रक्रियामा सहभागी नेपाली कांग्रेसका नगर र गाउँ प्रतिनिधि साथीहरुलाई हार्दिक स्वागत तथा शुभकामना। कोभिड–१९ को महामारीको समयमा स्वास्थ्य मापदण्डको पालना गरी अधिवेशनमा सहभागि हुनुहुन अनुरोध गर्दछु। ’
कांग्रेस पदाधिकारी बैठकले शनिबारदेखि ६४ जिल्लामा पालिका अधिवेशन गर्ने निर्णय गरेअनुरूप शनिवारदेखि अधिवेशन सुरू भएकाे हाे । पदाधिकारी बैठकले वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा मात्र पालिका अधिवेशन गर्ने निर्णय गरेको थियाे।
कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेकाे छ भने प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते तय गरेको छ।
यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० गतेदेखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म तय गरिएको छ।
प्रतिक्रिया