Pura Samachar

अन्योलबीच विद्यालय खुल्दै

प्रकाशित: September 25, 2021

अन्योलबीच विद्यालय खुल्दै

काठमाडौँ, ९ असोज (रासस) : विगत १० वर्षदेखि डल्लुमा बस्दै आउनुभएकी रामेछापकी सरस्वती खड्काका छोराछोरी अहिले गाउँमा छन् । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कराण गत वैशाखको दोस्रो सातादेखि विद्यालय बन्द गर्ने निणर्यसँगै काठमाडौँमै अध्ययन गर्ने उहाँका छोराछोरी गाउँ गएका हुन् । ज्याला मजदुरी गरी दैनिकी चलाउने सरस्वती भने काठमाडौँमै हुनुहुन्छ । दोस्रो लहरको कोरोना महामारी सुरु भएसँगै उहाँका दुई सन्तान गाउँबाटै अनलाइनका माध्यमबाट पठनपाठन गरिरहेका छन् । आइतबारदेखि काठमाडौँ महानगरपालिकाले भौतिक उपस्थितिमा विद्यालय खोल्न गरेको निणर्यले भने उहाँ अन्योलमा हुनुहुन्छ । उहाँले भन्नुभयो, “एकातिर केटाकेटीले कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन्, अर्कातिर नेपालीको महान् चाड दशैँ शुरु हुन हप्ता दिनमात्रै बाँकी छ, एक हप्ताका लागि आफ्ना छोराछोरीलाई काठमाडौँ ल्याउने वा पढाइ छुटाउने भन्ने विषयमा दोधार भइरहेको छ ।” काठमाडौँको वसन्तपुर निवासी यशोदा थापाले पनि दशैँ अगाडि छोटो समयका लागि भौतिक उपस्थितिमा भन्दा पनि आफ्ना छोराछोरीको पठनपाठन अनलाइनका माध्यमबाट घरबाटै गराउन सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाको डर कायमै छ, दशैँ आइसक्यो, खोप लगाएको छैन, यो हप्तामात्रै विद्यालय पठाएर के गर्नु ?” उहाँले कोरोनोको तेस्रो लहर आउने र त्यसबाट बालबालिका नै बढी सङ्क्रमित हुने भनिरहेका सन्दर्भमा सरकारले बालबालिकालाई खोपको व्यवस्था गर्न ढिलाइ गरिरहेको भन्दै गुनासो गर्नुभयो । कोरोना भाइरस महामारीको त्रास कम नभएको र दशैँ शुरु हुन एक हप्तामात्रै बाँकी हुँदा सरस्वती र यशोदा मात्रै होइन, विद्यालय खोल्ने निणर्यले धेरै अभिभावक थप दोधारमा छन् । महानगरपालिकाले यही असोज १० गते आइतबारदेखि भौतिकरूपमा नै विद्यालय खोल्ने निणर्य बिहीबार गरेको थियो । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर र मोडर्ना नामक कोरोना भाइरसविरुद्धको खोप दिने तयारी गरिरहेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण गत वैशाखको दोस्रो सातादेखि बन्द रहेका विद्यालय भौतिकरूपमा खोल्ने निणर्य गरिएको थियो । कामपा शिक्षा विभागको बुधबार बसेको बैठकले विद्यालय खोल्न अनुमति दिने निणर्य गरेको थियो । विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय भने खोल्नका लागि अनिवार्य नगरेको पनि महानगरपालिकाले जनाएको छ । शिक्षक, कर्मचारी, चालक कसैले खोप लगाउन बाँकी रहेको अवस्थामा महानगरपालिकाले खोप लगाउने व्यवस्थासमेत गर्ने जनाएको छ । लामो समय विद्यालय बन्द रहेको, चाडवाडको समय नजिक आएको र कोरोनाको त्रास अझै कायमै हुँदा अधिकांश विद्यार्थी गाउँमा रहेकाले दशैँ तिहारपछि मात्र भौतिकरूपमा विद्यालय पुनःसञ्चालन गर्नुपर्ने माग अभिभावकको छ ।

प्रतिक्रिया