Pura Samachar

मध्य भोटेकोशीको आइपीओ बाँडफाँट

प्रकाशित: September 27, 2021

मध्य भोटेकोशीको आइपीओ बाँडफाँट

मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयवासीका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपीओ बाँडफाँट गरिएको हो । कम्पनीले दोस्रो चरणमा रु एक सय अङ्कित दरका कूल ६० लाख कित्ता शेयर निष्कासन गरेको थियो । आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं १ र ५ तथा बाह्रबिसे नगरपालिका वडा नं ५, ६, ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि कूल निष्काशनको शेयरको ३० प्रतिशत अर्थात १८ लाख कित्ता छुट्याइएको थियो । त्यस्तै बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाकै अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि छुट्याइएको थियो । धितोपत्र बिक्री प्रबन्धकका अनुसार निष्काशन गरिएको आइपीओमा कूल एक लाख आठ हजार ५२७ जनाले शेयर खरिदका लागि आवेदन दिएका थिए । तीमध्ये आयोजना प्रभावित क्षेत्रअन्तर्गत १२ हजार १४७ जनाले शेयर खरिदका लागि आवेदन दिएकामा ४९ जनाको आवेदन रद्द भएकाले कूल १२ हजार ९८ जनालाई शेयर बाँडफाँट गरिएको छ । आयोजना प्रभावित क्षेत्रअन्तर्गत १८० कित्तासम्म आवेदन दिने आवेदकले मागबमोजिमकै शेयर पाएका छन् भने १९० देखि ४०० कित्तासम्म आवेदन दिएकाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् । त्यस्तै आयोजनाबाट प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोकका अन्य क्षेत्रका आवेदकमध्ये एक हजार ५१५ जनाको आवेदन रद्द भएर ९४ हजार ८६५ जना योग्य आवेदकलाई शेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । योग्य आवेदकमध्ये न्यूनतम १० देखि अधिकतम ४० कित्तासम्म आवेदन दिने आवेदकले मागबमोजिम शेयर पाएका छन् भने ५० देखि चार सय कित्तासम्मका लागि आवेदन दिनेबाट गोलाप्रथा गरी ४० हजार ५४८ जनाले थप १० कित्ताका दरले शेयर पाएका छन् । कम्पनीले गत वैशाख २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण शेयर बिक्री खुल्ला गरेको थियो । कोभिड– १९को सङ्क्रमण जोखिमका कारण भएको बन्दाबन्दीले केही समय स्थागित भई गत साउन ५ गतेदेखि पुनः निष्काशन खुला भएको शेयरमा स्थानीयवासीले साउन ३२ सम्म आवेदन दिएका थिए ।

प्रतिक्रिया