Pura Samachar

नक्कली अन्त:शुल्क स्टीकर छानबिन गर्ने राजस्वका प्रमुखको सरुवा

प्रकाशित: September 29, 2021

नक्कली अन्त:शुल्क स्टीकर छानबिन गर्ने राजस्वका प्रमुखको सरुवा

काठमाडौं। मदिरामा नक्कली अन्त:शुल्क स्टीकर छानबिनलाई प्रभावित बनाउन राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुखको सरुवा गरिएको छ। नक्कली अन्त:शुल्कको स्टीकर जस्तो गम्भीर आर्थिक अपराध गरिरहेका डिस्टीलरीलाई उन्मुक्ति दिन कार्यालय प्रमुख राजन बिसीको सरुवा गरिएको हो।



बिसी सो कार्यालयमा गएको एक वर्ष भएको थियो। सामान्यतया उपसचिवहरुको २/२ वर्षमा सरुवा हुने प्रावधान छ। तर २ वर्ष नपुग्दै बिसीको सरुवा भएको हो। संघीय निजामती सेवा ऐन अहिले प्रतिनिधि सभामा विचाराधीन अवस्थामा छ।

ऐनको दफा १८ (क) उपसचिवको प्रत्येक २ वर्षमा सरुवा गर्न सकिने प्रावधान छ। बिसीको स्थानमा प्रधानमन्त्री कार्यालयका उपसचिव राजेश पन्थी गएका छन्।

भारतबाट नक्कली स्टीकर ल्याएर मदिरामा टाँसेर बेच्ने कम्पनी धमाधम अनुसन्धानको दायरामा ल्याउन थालेपछि बिसी टार्गेटमा थिए। स्रोतका अनुसार नक्कली स्टीकरको छानबिनमा तानिएका कम्पनी संचालकले प्रधानमन्त्री तहसम्म पुगेर कारबाही अगाडि नबढाउन दबाब दिएका थिए।

‘नक्कली स्टीकरमा संलग्न रहेका कम्पनीका मालिकले प्रधानमन्त्रीसम्मै पुगेर अनुसन्धान रोक्न दबाब दिएका थिए,’ स्रोतले भन्यो, ‘अनुसन्धानलाई प्रभावित बनाउन नै बिसीको सरुवा गरेर नयाँ ल्याइएको हो।’

विगतमा यस्तो अनुसन्धानको प्रक्रिया अगाडि बढ्दा कर्मचारीको सरुवा हुँदैनथ्यो। ‘राजस्व सम्बन्धी यस्तो अनुसन्धानमा जो खटिएका छन्। त्यसैलाई विश्वास गरेर अगाडि बढ्न निर्देशन दिइन्थ्यो,’ प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले भने, ‘उसले गरेको अनुसन्धान फितलो बनाएर केन्द्रबाट अरु टोली खटाउने गरिन्थ्यो। अहिले सरुवा नै गर्नु भनेको नक्कली स्टीकरमा संलग्नलाई बचाउने नियत स्पष्ट हुन्छ।’

स्रोतका अनुसार बिसीको सरुवाका लागि नक्कली स्टीकरमा संलग्न मात्रै होइन ठूलै डिस्टीलरी उद्योगका एक संचालक समेत लागेका थिए। ‘यो अनुसन्धान रोक्न धेरैतिरको दबाब छ। एक जना ठूला मदिरा उद्योगी समेत लागेका थिए,’ ती कर्मचारीले भने।

बिसीको सरुवा भएपछि नक्कली स्टीकरसँग संलग्न मदिरा उद्योगीले केही दिनमै उद्योग खोल्ने जानकारी आफ्ना सर्कललाई दिएका छन्। ‘हामी कति शक्तिशाली छौं भन्ने देखिहाल्नुभयो ?’ उनीहरुले भन्ने गरेका छन्, ‘अब हाम्रो उद्योग केही दिनमै खुल्छ। हाम्रो शक्तिका अगाडि फुच्चे कर्मचारीले के गर्न सक्छ र?’

दुई महिनाअघि सशस्त्र प्रहरीले नक्कली अन्त:शुल्क स्टीकरसहित दुई जनालाई पक्राउ गरेको गरेको थियो। पक्राउपछि प्रहरीले राजस्व अनुसन्धान कार्यालयलाई अनुसन्धानको जिम्मा लगाएको थियो।

कार्यालयको छानबिनमा भैरहवाको क्रिष्टल डिस्टीलरी र एभरेष्ट डिस्टीलरीले आन्तरिक राजस्वसँग खरिद गरेको स्टीकर र प्रहरीले भेटेको स्टीकरको सिरियल नम्बर मिलेको थियो। यो सिरियल नम्बर मिलेपछि अनुसन्धान कार्यालयले क्रिष्टल र एभरेष्ट डिष्टीलरीमा छापा मारेको थियो। यद्यपि राजस्व अनुसन्धान विभागले भने सरुवा नियमित पक्रिया भएको जिकिर गरेको छ।

मुख्य कारोबारी कशोधन पक्राउ गर्न पुर्जी

नक्कली अन्त:शुल्क  कारोबार गर्ने मुख्य आरोपित बाबुराजा कशोधन फरार छन्। कशोधनले सुरुमा यो मुद्दा मिलाउन राजनीतिकदेखि अदालतसम्म सेटिङ गर्ने प्रयास गरेका थिए।

तर कुनै पार नलागेपछि उनी भारत फरार भएका छन्। उनीविरुद्ध राजस्व अनुसन्धान कार्यालयले पक्राउ पुर्जी जारी गरे पनि हालसम्म पक्राउ गर्न सकेको छैन।

प्रतिक्रिया