
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलिय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री देउवाले बिहीबार विहान १० बजे संसदमा भएका सबै दलको बैठक बोलाउनु भएको हो ।
संघीय संसदमा जारी अवरोध अन्त्यका लागि सर्वदलिय बैठक आह्वान गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकमा संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल हुनेछ ।
यसअघि संसदको अवरोध रोक्न सभामुखले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी एमालेले बहिष्कार गरेको थियो । आजको बैठकमा पनि एमाले अध्यक्ष केपी शर्मा ओली नजानुहुने बताइएको छ ।
एमालेको अवरोधकै बीच सरकारले प्रतिस्थापन बजेट पास गरेको थियो । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालेले संसदको चालु अधिवेशनमा अवरोध गर्दै आएको छ ।
प्रतिक्रिया