
नेकपा(एकीकृत समाजवादी)ले मन्त्री हुनेहरूको नाम टुंगो लगाएको छ।
एकीकृत समाजवादीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ मन्त्री र भवानी खापुङ राज्यमन्त्री हुने भएका छन्।
पार्टीबाट मन्त्री हुनेहरूको अन्तिम टुंगो लगाइएको नेकपाका एकीकृत समाजवादीका एक स्थायी कमिटी सदस्यलेबताए।
‘हिजो अबेरसम्म नेताहरूको छलफलले मन्त्रीको नाम टुंगो लागेको हो। आजै सपथ गर्ने तयारी छ,’ एकीकृत समाजवादीबाट मन्त्रीमा सिफारिस एक नेताले भने,’सपथ नगर्दासम्म कुनै परिवर्तन भयो भने एउटा कुरा हो। अहिलेसम्म हाम्रो पार्टीबाट मन्त्री हुनेहरूको सूची यही हो।’
खतिवडा सहरी विकास मन्त्री हुँदैछन्। मकवानपुरबाट निर्वाचित खतिवडा एकीकृत समाजवादीबाट मन्त्री हुनेमध्ये सबैभन्दा पुराना नेता हुन्। उनी २०४८, ०५१, ०५६ र ०७४ गरी ४ पटक सांसद निर्वाचित भइसकेका छन्।
झाँक्रीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएकी छन्। विद्यार्थी आन्दोलनबाट स्थापित झाँक्री एकीकृत समाजवादीकी सचिवसमेत हुन्। नेकपा एमालेमा अन्तरसंघर्ष हुँदादेखि पार्टी गठनसम्म झाँक्रीले माधव नेपाललाई बलियो साथ दिएकी थिइन्।
झाँक्री अनेरास्ववियुको अध्यक्षसमेत भएकी थिइन्। उनी अनेरास्ववियुको अध्यक्ष बन्ने पहिलो महिलासमेत हुन्।
आलेले पर्यटन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। आले २०७० सालमा समेत सांसद बनेका थिए। २०७७ पुस १० गते बनमन्त्री बनेका आले २०७८ जेठमा हटाइएका थिए। मन्त्रीबाट हटेपछि ओलीसँग असन्तुष्ट बनेका आलेले माधव नेपाललाई पार्टी विभाजनमा साथ दिएका हुन्। २०७४ को निर्वाचनभन्दा पहिला आले नेपाल समूहमा नै थिए। २०७१ को नवौं महाधिवेशनमा आलेले नेपाल समूहबाटै केन्द्रीय सदस्य जितेका थिए।
प्रतिक्रिया