
नेपालको पश्चिमी भूभागबाट मनसुन बाहिरिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार औसत समयभन्दा एक साता ढिलो गरी शुक्रबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिन थालेको हो।
लुम्बिनीका पश्चिमी भूभागबाट पनि बहिर्गमन भएको महाशाखाले जानकारी दिएको छ। विभागका अनुसार आगामी केही दिनमा देशका अन्य भूभागबाट पनि मनसुन बाहिरिनेछ।
‘नेपालको मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनिय मौसम प्रणाली छैन,’ महाशाखाले भनेको छ, ‘नेपालमा मनसुनको बहिर्गमनको औसत २ अक्टोबर भए पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही पछाडी सरेको छ।’
मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो (भन्नाले बिहान १०/११ बजेदेखि साँझसम्मको अवधि) मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा र बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना पनि छ।
मौसमविद्का अनुसार अपराह्नपछि काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना छ। यद्यपी सम्भावना निकै न्यून छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यस्तै राति पनि मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशको पहाडी भेगमा मौसम आंशिक (आकाशको थोरै भागमा बादल, बाँकी खुला) देखि सामान्य (धेरै बादल, थोरै खुला) बदली छ भने तराई क्षेत्रका धेरैजसो स्थानमा मौसम सफा छ, आंशिक रूपमा मात्र बादल लागेको छ।
प्रतिक्रिया