Pura Samachar

चार जनाको ज्यान जानेगरी रूपन्देहीको मोतीपुरमा भएको घटनापछि लगाइएको कर्फ्यू मंगलबार राति १२ बजेदेखि हटाइने

प्रकाशित: October 12, 2021

चार जनाको ज्यान जानेगरी रूपन्देहीको मोतीपुरमा भएको घटनापछि लगाइएको कर्फ्यू मंगलबार राति १२ बजेदेखि हटाइने

चार जनाको ज्यान जानेगरी रूपन्देहीको मोतीपुरमा भएको घटनापछि लगाइएको कर्फ्यू मंगलबार राति १२ बजेदेखि हटाइने भएको छ।

जिल्ला  प्रशासन कार्यालय रूपन्देहीले सूचना जारी गर्दै आइतबारदेखि मोतीपुर औद्योगिक क्षेत्रमा लगाएको कर्फ्यू राति १२ बजेदेखि हटाउने जनाएको हो।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले एक सूचना जारी गर्दै असोज २४ गते आइतबार दिउँसो ४ बजेदेखि लगाइएको कर्फ्यू मंगलबार राति १२ पछि हटाइने जनाएका छन्।

सुकुम्बासीको नाममा औद्योगिक क्षेत्रको जग्गा कब्जा गरि बसेको समूह र सुरक्षाकर्मीबीच झडप भएपछि तनावग्रस्त बनेको स्थिति नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले आइतबार दिउँसो ४ बजेदेखि कर्फ्यू आदेश गरेको थियो।

कर्फ्यू हटाए पनि भदौ २८ गतेदेखि नै कायम गरिएको निशेधाज्ञा भने यथावत् रहेको छ।

पूर्वतर्फ तिनाउ नदी (बुटवल उपमहानगरपालिका वडा नम्बर १७ देखि वडा नम्बर १८ सौरहिया पुलसम्म), पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन (बुटवल उपमहानगरपालिका वडा नम्बर १७), उत्तर शिवनगर रानी गञ्ज बस्ती (बुटवल उप महानगरपालिका वडा नम्बर १७) र दक्षिण बुटवल उपमहानगरपालिका वडा नम्बर १८ औद्योगिक कोरिडोरको जमिन (धन्दापुर सौरहिया सम्म) को क्षेत्रलाई चार किल्ला मानी निषेधाज्ञा लगाइएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।

नेपाल सरकारले बुटवल उप-महानगरपालिका वडा नम्बर १७ र १८ मा तिनाउको उकास क्षेत्रमा मोतीपुर औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरेको थियो।

सोही अनुरूप औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढिरहँदा सुकुम्बासीको नाममा जग्गा अतिक्रमण गरी बस्ती बसाल्ने प्रयास भइरहेको थियो। सोही बस्ती बसाल्नेहरूलाई उक्त जग्गाबाट हटाउन खोज्दा प्रहरीसँग झडप भएको हो।

जग्गा कब्जा गर्नेहरूलाई हटाएपछि अहिले उक्त जग्गा सुरक्षा निकायले आफ्नो नियन्त्रणमा लिएको छ।

मोतीपुर क्षेत्रमा अहिले सुरक्षा व्यवस्था मजबुत बनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

उक्त क्षेत्रमा अहिले कपिलवस्तु, नवलपरासी र रूपन्देहीका गरी ६ सयभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ।

प्रतिक्रिया