
सरकारले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन फारम सोमबारदेखि खुलाएको छ। यातायात व्यवस्था विभागले कोभिड–१९ को दोस्रो लहरका कारण गत वैशाख १६ गते रोकेको सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन फारम खुलाएको हो।विभागका प्रवक्ता लोकनाथ भुसालले सोमबार बेलुकादेखि अनलाइन आवेदन खुला गरिएको बताए।
उनले भने, ‘अब मुलुकभरका २१ यातायात कार्यालयले दैनिक ५ हजार आवेदन लिनेछन्। ’पाँच हजारको कोटाले अनलाइन आवेदन भर्नै सास्ती हुने देखिन्छ। प्रवक्ता भुसालले मुलुकभरका २१ वटा कार्यालयले दैनिक पाँच हजारभन्दा धेरै आवेदन लिन नसक्ने भनेकाले कोटा तोकिएको बताए।यसअघि पनि अनलाइन आवेदनको लागि कोटा तोकिएको थिए।
गत वैशाख १६ देखि सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा समेत रोकिएको थियो तर वाग्मती प्रदेश सरकारले भदौ २० गतेदेखि लिखित र प्रयोगात्मक परीक्षा गर्दै आएको छ।
विभागका अनुसार काठमाडौं उपत्यकामा मात्रै तीन लाखभन्दा धेरै अनलाइन आवेदन भरेका सेवाग्राहीले अहिलेसम्म प्रयोगात्मक परीक्षा दिन पाएका छैनन्। गत पुसदेखि वैशाखसम्म सात लाख भन्दा धेरै सेवाग्राहीले अनलाइन फारम भरेर प्रयोगात्मक परीक्षा पर्खिरहेका छन्।
तर यातायात व्यवस्था कार्यालयले सेवाग्राहीको चाप अनुसार सेवा प्रवाह गर्न नसक्दा २०२२ को जनवरीसम्मको मिति प्याक भइसकेको छ। विभागले काठमाडौं उपत्यकामा अझै पनि ३–४ लाख सेवाग्राहीले प्रयोगात्मक परीक्षा (ट्रायल) पर्खिरहेको जनाएको छ। ती सेवाग्राहीको पालो ३–४ महिनाभित्रै आउनेछ।
अटोमोबाइल एसोसियसन अफ नेपाल (नाडा)का अनुसार कोभिड–१९ पछि दुईपांग्रे सवारी साधन खरिद गर्नको संख्या दोब्बरभन्दा धेरै बढेको छ। तर यातायात व्यवस्था विभाग संघीय सरकार मातहत र सवारी चालक अनुमतिपत्र लिने यातायात व्यवस्था कार्यालयहरू प्रदेश सरकार मातहत भएकाले समन्वयको अभाव देखिन्छ। अहिले अत्यधिक मात्रामा लाइसेन्सको सेवाग्राही बढेकाले पनि क्षमता अनुसार सेवा प्रवाह गर्न समस्या छ।
प्रतिक्रिया