Pura Samachar

भाटभटेनीमा संचालनमा आउँदैछ नेपालकै पहिलो भर्टिकल पार्किङ

प्रकाशित: October 31, 2021

भाटभटेनीमा संचालनमा आउँदैछ नेपालकै पहिलो भर्टिकल पार्किङ

काठमाडौं। थोरै जग्गामा धेरै गाडी पार्किङ गर्न मिल्ने भर्टिकल पार्किङ भाटभटेनी सुपरमार्केटको टंगाल आउटलेटमा दुई दिनपछि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ।

भाटभटेनी सुपरमार्केटले भर्टिकल पार्किङ निर्माण गरी संचालनमा ल्याउन लागेको यो नै देशको पहिलो संरचना हो। बुधबारदेखि टंगाल आउटलेटमा भर्टिकल पार्किङ पूर्ण रूपमा सञ्चालनमा आउने भाटभटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले जानकारी दिए।

खर्चका हिसाबले केही महँगो भएपनि भूमिगत पार्किङ नभएका ठाउँ वा भएको पार्किङ स्पेसले पनि नपुग्ने स्थानमा भर्टिकल पार्किङ जडान गर्न सकिन्छ।

दीर्घकालीन रूपमा काठमाडौंसहितका ठूला सहरहरुमा बढ्दो सवारी संख्याका कारण भाटभटेनीका आउटलेटमा मात्रै नभएर अन्य स्थानमा समेत जडान गर्नुपर्ने पौडेलले बताए।

‘कुनै स्टोरमा सपिङ गर्न जानु भयो भने पार्किङ अभाव हुन्छ। भाटभटेनी टंगाल आउटलेटमा ७० वटासम्म गाडी र तीन सय हाराहारी मोटरसाइकल जग्गामै पार्किङ हुने गरेको छ। अर्को ३० वटा गाडी अट्ने गरी जग्गा विस्तार गरिरहेका छौं,’ उनले भने,’यसो हुँदा पनि पार्किङ स्पेस हामीलाई पुगेन। आवश्यकता देखेरै हामी भर्टिकल पार्किङमा जान लागेका हौं।’

 

कस्तो छ भाटभटेनीको भर्टिकल पार्किङ?
भाटभटेनी टंगाल आउटलेटमा ११ तलाको भर्टिकल पार्किङ पूर्ण रूपमा सञ्चालनको तयारीमा छ। चारवटा भर्टिकल रहेकोमा एउटा भर्टिकलमा ११ वटा गाडी अट्ने पौडेलले जानकारी दिए।

एउटा भर्टिकलमा चार वटा गाडी राख्ने लेन रहेकाले ४४ वटा गाडी ११ तलासम्ममा पार्किङ गर्न सकिन्छ। भर्टिकल पार्किङको लागत फिनिसिङसहित करिब सात करोड रुपैयाँ परेको उनले बताए।

साढे चार आना (करिब १५ सय वर्गफीट) जग्गा ओगटेको भर्टिकल पार्किङ पूर्ण स्वचालित छ। भाटभटेनी जाने ग्राहकहरुले भर्टिकल पार्किङमा गाडी छिराएर बाहिर निस्केपछि खाली रहेको स्थानमा आफैं गाडी मुभ हुने पौडेलले बताए।

भर्टिकल पार्किङ निर्माण गर्न कम्तिमा चार महिना समय लाग्ने अनुमान गरिएको भए पनि टंगालमा फुल फ्लेजमा काम सुरु भएको तीन महिना हाराहारीमै यो तयार भएको उनले बताए। स्टील स्ट्रक्चर (स्टील बार) र हाइड्रोलिक प्रणालीबाट जडान भएको भर्टिकल पार्किङका लागि भाटभटेनीले आवश्यक सबै सामग्री र प्रविधि चीनबाट आयात गरेको जनाएको छ।

प्रतिक्रिया