Pura Samachar

प्रदेश नं. १ का मूख्यमन्त्री राजेन्द्र राईको राजनीतिक इतिहास

प्रकाशित: November 2, 2021

प्रदेश नं. १ का मूख्यमन्त्री राजेन्द्र राईको राजनीतिक इतिहास

काठमाडौं । भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा बुबा नरेन्द्रबहादुर राई र आमा धनकुमारी राईको कान्छो सन्तानको रुपमा ५१ वर्ष अघि वि.सं. २०२७ साल असार १५ गते  जन्मिनुभएका राजेन्द्र राई मंगलबार प्रदेश १ को मुख्यमन्त्री बन्नुभएको छ ।

तत्कालिन किमलुङ गाविसमा जन्मिनुभएका राई विद्यालय तहबाटै विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएको थियो । विद्यालयमा अनेरास्ववियुमा सङ्गठित भएर राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका राई ३७ वर्षदेखि अनवरत राजनीतिमा संलग्न रहँदै आउनुभएको छ ।

२०४१ सालमा अनेरास्ववियुको स्कुल एकाइ कमिटीको सचिव भएर विद्यार्थी राजनीति सुरु गर्नुभएको थियो राईले । विद्यालय तह मै राजनीति सुरु गर्नु भएका राईले  वि.सं. २०४३ मा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा प्रवेश गर्नुभयो । रत्नराज्य लक्ष्मी क्याम्पसमा  पनि उहाँले विद्यार्थी राजनीतिलाई निरन्तरता दिनुभयो । त्यस क्रममा उहाँ २०४९ मा स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) सभापति बन्नुभयो ।

उहाँ अनेरास्वियुको केन्द्रीय सदस्य, सचिव, महासचिव हुँदै २०५७ सालमा पहिलो पटक र २०५९ सालमा दोस्रो पटक केन्द्रीय अध्यक्ष समेत बन्नुभयो । उहाँ अध्यक्ष भएकै बेला देशभर अखिलले सबैभन्दा धेरै स्ववियुमा जित हासिल गरेको थियो । नेकपा एमालेले संवैधानिक राजतन्त्र भनिरहेकै बेला उहाँ नेतृत्वको अखिलको केन्द्रीय कमिटी र राष्ट्रिय सम्मेलनले गणतन्त्रमा जानुपर्ने माग अगाडि सारेको थियो ।

पूर्वराजा ज्ञानेन्द्रको शासनकालमा विद्यार्थी आन्दोलनको अगुवाई गर्दै आन्दोलनमा होमिनुभएका राई नेकपा एमालेको नवौं महाधिवेशन पछि भने किनारामा पर्नुुभयो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा आएसँगै राई छाँयामा पर्नुभयो । नेकपा एमाले भित्रको गुटको राजनीतिले केही समय उहाँको गतिलाई रोक्न खोजे पनि उहाँले राजनीतिक यात्रालाई नयाँ ढंगले अघि बढाई रहनु भयो र प्रदेश १ को तेस्रो मुख्यमन्त्रीको रुपमा अहिले उहाँले जिम्मेवारी पाउनुभएको छ ।

लामो समय अखिल राजनीतिमा सक्रिय रहनुभएका राई २०६८ सालमा केन्द्रीय सदस्य मनोनीत भएपछि पार्टी राजनीतिलाई नयाँ ढङ्गले अगाडि बढाउनुभयो । उहाँ २०७१ सालमा सम्पन्न एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा राई प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार नियुक्त हुनुभएको थियो । २०७४ सालको आम निर्वाचनमा नेता राई भोजपुरबाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभयो ।

ओलीको गुटको राजनीतिका कारण उहाँ गुटमा भन्दा पनि जनताको सेवकका रुपमा काम गरीरहनु भयो । पछिल्लो समयमा एमाले अध्यक्ष ओलीले आफु नजिकका नेताहरुलाई आफ्नो साथमा लिए संगै उहाँ माधव नेपाल नेतृत्वको नेकपा (एककिृत समाजवादी) को केन्द्रिय सचिव रहनु भएको छ ।

पञ्चायतकालमा सात महिना जेल जीवन बिताउनुभएका राई शाही शासनका विरुद्ध आन्दोलन गर्दा चार महिना प्रहरी हिरासतमा रहनुभएको थियो । नेता राई राज्यबाट मात्र नभएर देशमा चलेको सशस्त्र आन्दोलनमा विद्रोही पक्षबाट पनि केही समय नियन्त्रित हुनुभएको थियो । २०६० सालमा जनयुद्धरत नेकपा माओवादीका कार्यकर्ताले उहाँलाई भोजपुरमा एक हप्ता नियन्त्रणमा राखेको थियो ।

प्रतिक्रिया