Pura Samachar

छठको तेस्रो दिन आज, ‘खरना’ विधिको तयारी

प्रकाशित: November 9, 2021

छठको तेस्रो दिन आज,  ‘खरना’ विधिको तयारी

काठमाडौं । लोकआस्थाको महापर्व छठको तेस्रो दिन आज मङ्गलबार ब्रतालु  ‘खरना’ विधिको तयारीमा छन् ।

पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा–अरबाइन’ र चौथीका दिन हिजो सोमबार ‘नहाय–खाय’ सम्पन्न गरेका ब्रतालु आज पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सख्खरमा पकाइएको खिर कूलदेवता र छठीदेवीलाई चढाई ब्रतालुले त्यही खिर खाने गर्दछन् । यो विधिलाई ‘खरना’ भनिएको हो ।

श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठपर्वको ‘खरना’का दिन दिनभर उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खिर पकाउने र त्यसलाई केराको पातमा राखेर छठी मातालाई चढाएर मात्र ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा खाने गर्छन् । आज दिनभर उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्दैछन् ।

पर्वको चौथो दिन भोलि बुधबार अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेका ब्रतालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ । त्यसैगरी सप्तमीका दिन बिहान ब्रतालुले उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएर पर्व समापन गर्ने प्रचलन छ । उदाउँदो सूर्यलाई दिइने अघ्र्यलाई ‘भोरका अरख’ भनिन्छ ।

छठपर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्त तथा नातेदारकहाँ पु(याउन जाने परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा चित्र्ताकर्षक  घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।

केही वर्ष पहिलेसम्म मधेशी मूलका हिन्दूले मात्र मनाउँदै आएकामा अब पर्वते मूलका हिन्दू र इस्लाम धर्मावलम्बीले समेत धुमधामसँग मनाउन थालेकाले  छठपर्व साझा बनेको छ ।

प्रतिक्रिया