
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले मंगलबार पनि आन्दोलन जारी राखेको छ ।
जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीशसहित नेपाल बार एसोसिएसन आन्दोलित भएको हो ।
तिहार सकिएलगत्तै सोमबारबाट आन्दोलनलाई निरन्तरता दिएको बारले प्रधानन्यायाधीश जबराकाबारेमा गम्भीर बन्न राजनीतिक दलहरूलाई आह्वानसमेत गरेको छ ।
कालो पट्टी बाँधेर विरोधमा उत्रिएका बार पदाधिकारी र सदस्यहरूले दैनिक धर्ना दिँदै आएका छन् ।
बन्दीप्रत्यक्षीकरणका रिट सुनुवाइका लागि मात्र इजलास तोक्दै आउनुभएका प्रधानन्यायाधीश जबराले मंगलबारबाट सबै मुद्दाको सुनुवाइका लागि इजलास गठन गर्नुभएको छ ।
सबै मुद्दामा इजलास गठन गरेको भन्दै जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरूले भने मुद्दा सुनुवाइमा सहभागी नहुने बताएका छन् । आफ्नो इजलासमा सातवटा विवाद सुनुवाइका लागि तय गरेका जबराले १० वटा इजलास गठन गर्दै २९८ मुद्दा सुनुवाइका लागि पेशी तोक्नुभएको छ ।
नेपाल बार एसोसिएसनले जबराबारे गम्भीर कदम चाल्न आग्रह गरेको भोलिपल्टै उहाँले मुद्दा सुनुवाइलाई लयमा फर्काउन खोजेको सन्देश दिनुभएको छ । तर, जबराको यो कदमविरुद्ध नेपाल बार र सर्वोच्चका न्यायाधीशहरूले भने आन्दोलन जारी राख्ने बताएका छन् ।
प्रतिक्रिया