Pura Samachar

आजदेखि जनगणनाको मूल गणना

प्रकाशित: November 11, 2021

आजदेखि जनगणनाको मूल गणना

काठमाडाैं- नेपालमा १२औं राष्ट्रिय जनगणनाकाे मूल गणना आज बिहीबारदेखि प्रारम्भ हुँदैछ ।

बिहीबार बिहान ९ बजेपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट १२औँ राष्ट्रिय तथ्यांक संकलन कार्यक्रमको सुरुवात हुनेछ ।

त्यससँगै उपराष्ट्रपति र प्रधानमन्त्रीसहित देशैभर जनगणना प्रारम्भ गरिने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।

नेपालमा हरेक १० वर्षमा राष्ट्रिय जनगणना हुन्छ ।

तर, यो पटक कोरोनाका कारण ढिलोगरी जनगणना भइरहेको हो ।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछिको पहिलो जनगणनाको मूल नारा– ‘मेरो गणना, मेरो सहभागिता’ तय भएको छ ।

मूल गणना ९ मंसिरमा सम्पन्न हुनेछ ।

०७९ सम्ममा मुख्य प्रतिवेदन प्रकाशित गर्ने र ०८० भित्र सबै क्षेत्रगत र विषयगत प्रतिवेदन पनि प्रकाशित गरिने विभागले जानकारी दिएको छ ।

देशभित्र रहेका सबै घरपरिवार तथा व्यक्तिको तोकिएको समयसीमाभित्र गणना गर्नका लागि करिब ४० हजार गणक तथा आठ हजार पाँच सय सुपरिवेक्षक परिचालन हुँदै छन् ।

जनगणना अघिल्लो जनगणनाभन्दा निकै खर्चिलो हुने भएको छ ।

११औँ जनगणना करिब डेढ अर्ब खर्च भएको थियो ।

तर, यस पटक ४ अर्ब खर्च हुने अनुमान गरिएको छ ।

खर्च बढ्ने पहिलो कारण यस पटक पूरा तलब दिएर गणकलाई खटाइएको छ ।

११औँ सम्म शिक्षकलाई गणकका रूपमा खटाइने गरिन्थ्यो ।

शिक्षकलाई आधा मात्रै भत्ता खुवाइने गरिन्थ्यो ।

तर, यस पटक तथ्याङ्क विभागले कक्षा १२ पास गरी बेरोजगार रहेका युवा, युवायुवतीलाई पुरा तलब दिएर गणकका रूपमा परिचालन गरेको छ ।

जसका कारण यस पटकको जनगणना धेरै खर्चिलो हुने छ ।

केन्द्रीय तथ्याङ्क विभागका उपसचिव हेमराज रेग्मीका अनुसार पहिलेको भन्दा यस पटक कर्मचारीको तलब वृद्धि भएको छ भने गणकलाई पुरा भत्ता दिइने छ ।

जस कारण यस पटक गणकमा मात्रै सबैभन्दा बढी खर्च हुनेछ ।

तथ्याङ्क विभागले यसपटक जनगणनाका लागि ४० हजार गणक देशभरि परिचालन गरेको छ ।

यस पटकको जनगणनामा ८० वटा प्रश्नावली रहेका छन् ।

लामो प्रश्नावली भएका कारण गणकलाई तथ्याङ्क संकलन गर्न धेरै समय लाग्ने छ ।

यसले पनि खर्च बढाएको उपसचिव रेग्मीले बताए ।

‘विकसित देशमा सिस्टममै धेरै कुराको तथ्याङ्क आउने गरेको छ,’ उपसचिव रेग्मीले भने-‘तर नेपालमा धेरै कुरा गणनाबाट नै संकलन गरेर तथ्याङ्क संकलन गर्नुपर्ने भएका कारण प्रश्नावली बढी भएका छन्, बिस्तारै प्रश्नावली संख्या घटाइने छ ।’

प्रतिक्रिया