काठमाडौं । काठमाडौंको सीतापाइलामा बिहीबार बेलुका रौतहट लक्ष्मीपुर घर भएका मोहम्मद आलमले आफ्नो ग्यारेजमा काम गर्ने भारतीय युवालाई रक्सीको बोतलमा एसिड राखेर युवतीमाथि प्रहार गर्न दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार मोहम्मद आलमले भारत शिवर घर भएका महमद मुन्नालाई रक्सीको बोतलमा एसिड राखेर युवतीलाई हान्न लगाएको पाइएको छ ।
उनले नै मुन्नालाई मोटरसाइकलमा राखेर युवतीको घरअगाडि लगेर छाडेको प्रहरी अनुसन्धानबाट खुलेको छ । एसिड हान्ने व्यक्तिले प्रहरीमा दिएको प्रारम्भिक बयानमा ट्वाइलेट सफा गर्ने एसिड बोतलमा राखेर दिएको र आफ्नो हातमा पनि एसिड लागेपछि मात्रै आफूले थाहा पाएको उल्लेख छ । बिहीबार बेलुका ओखलढुंगा घर भएकी पवित्रा कार्कीमाथि काठमाडौंको सीतापाइलामा एसिड प्रहार भएको थियो ।
घाइते कार्कीको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । एसिड प्रहार गर्ने र उनलाई निर्देशन दिने दुवैलाई राति नै प्रहरीले पक्राउ गरेको छ । सीसीटीभी फुटेजका आधारमा उनीहरु पक्राउ परेका हुन् ।
प्रतिक्रिया