
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३ मंसिरदेखि सुरू हुने शहीद स्मारक ‘ए’ लिगको टिकट दरसमेत घोषणा गरेको छ । पहिलो पटक फ्लड लाइटमा हुने लिगको साधारण तर्फको १०० र भीआईपी तर्फको ५०० रुपैयाँ टिकट दर निर्धारण गरेको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो ।
एन्फाले पहिलो पटक लिगमा दर्शकलाई मध्यनजर गर्दै रिफ्रेसमेन्ट सुविधाको घोषणा गरेको छ । अब एन्फाले खेल हेर्दा कफी, चिया, बर्गरलगायतका सुविधाहरू रहेको लिग निर्देशक सन्जिव मिश्रले जानकारी दिनुभयो ।
एन्फाले लिगको केही खेल पोखरामा समेत गर्ने र प्रत्येक शुक्रबार र शनिबारका खेल फ्लड लाइटमा हुने बताएको छ ।
लिगमा त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, संकटा फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, हिमालयन शेर्पा फुटबल क्लब, सातदोबाटो फुटबल क्लब, मनाङ मर्स्याङदी फुटबल क्लब, थ्री स्टार फुटबल क्लब, एनआरटी फुटबल क्लब, फ्रेन्डस फुटबल क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब र बिग्रेड ब्वाइज फुटबल क्लब गरी १४ टोलीको सहभागिता रहनेछ ।
प्रतिक्रिया